भर्खरै

सुन काण्डमा सिआईबीले हेडक्वार्टरबाटै एसएसपी पक्रियो,सुन मालिक को हो ?

काठमाण्डौं । त्रिभुवन विमानस्थलबाट समातिएको ३३ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आइतबार प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)बाटै पक्राउ गरेको हो ।

दुबईबाट आएको ३३ किलो अवैध सुन सिआईबी टोलीले महिना दिनअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट नजिकैबाट समातेको थियो । सुनसँगै तीन भरिया पनि पक्राउ परेका थिए ।

विमानस्थलको कडा सुरक्षा घेराका बीच तस्करी हुन लागेको ठूलो परिमाणमा सुन समातिएपछि यो घटनामा एसएसपी खत्री पनि मुछिएका थिए । सुनकाण्डमा मुछिएका खत्रीलाई विमानस्थलबाट हेडक्वार्टर तानिएको थियो । तर, उनी सिआईबीको निगरानीबाट बच्न सकेनन् । अन्ततः सुन काण्डमा पक्राउ परे ।

एसएसपी खत्रीलाई सुन तस्करी प्रकरणमा छानविनका लागि नियन्त्रणमा लिइएको सिआईबी प्रमुख डीआईजी नवराज सिलवालले जानकारी दिए ।

यसअघि सुन तस्करीमा संलग्न रहेको भन्दै भन्सारका अधिकृत पक्राउ परेका थिए । प्रहरीले सुन मालिक को हो भन्ने पत्ता लगाउन एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.