भर्खरै

भारतको अर्काे ‘अघोषित नाकाबन्दी’

नेपाल भारत सीमावर्ति क्षेत्र बेलहियामा भारतीय पक्षले दसगजामै आएर गरेको कडा चेकजांचले केही महिना अगाडी भारतीय पक्षले गरेको अघोषीत नाकाबन्दीको झल्को दिएको छ ।

बेलहिया हुदैं भारत तर्फ जाने सवारी साधन होऊन् वा यात्रुहरुलाई चेंकजांचको नाममा भारतीय प्रहरीले सास्ती दिने गरेको हो । साउन लागेसंगै माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बलले अन्तर्राष्ट्रिय कानुन विपरित दसगजामै चेकजाचलाई कडाइ गरेको हो ।

भारतीय एसएसबीका जवानहरुले दसगजामै एक्सरे मेसीन राखी नेपालबाट भारत तर्फ जाने यात्रुको कडा चेकजाच गरिरहेका छन् । सवारी साधनको हकमा पनि उनीहरुले कागजपत्र मात्रै नभएर सबै गाडी नै मेसीनले चेकजाच गरिरहेका छन् । सवारीसाधनमा सवार यात्रुहरुलाई दसगजामै उतारेर मेसीनबाट चेकजाच गरेर मात्रै भारत तर्फ जान दिएका छन् । तर भारतबाट नेपाल आउने सवारी साधन वा यात्रु कसैलाई पनि कुनै चेकजाच गरिएको छैन । एसएसबीका जवानहरुले नेपालीहरुमाथी दुव्र्यवहार समेत गर्ने गरेको देखिएको छ । दुव्र्यवहारको प्रतिवाद गर्दा उल्टै एसएसबीको सास्ती समेत नेपालीले खेपीरहेको दृश्य सीमामा दर्दनाक देखिन्छ । तर सीमामा खटिएका नेपाली सुरक्षाकर्मि भने निरीह जस्तै बनेका छन् ।

चेकजाँचमा खुकुलो बनाइएको बेला भारतबाट धेरै मालबाहक गाडी आउँदा एकैदिन २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने भैरहवा भन्सार कार्यलयको राजस्व संकलन पनि कडा चेकजाचको कारण प्रभावित भएको छ ।

सामान्य अवस्थामा बेलहिया नाका हुदैं दैनिक ६ सयदेखि साढे ६ सय मालबाहक गाडी नेपाल आउने गरेकामा अहिले २ सयदेखि साढे २ सय मात्र मालबाहक गाडी आउने गरेका छन् ।

माथिको आदेश भन्दै जवाफ दिने गरेको भारतीय सुरक्षाकर्मीले नेपालसँगको वीरगन्ज, विराटनगर, नेपालगन्ज, मेचीलगायत नाकामा चेकजाँच कडा नबनाउनु र भैरहवा नाकामा मात्रै कडा बनाइनुलाई निकै रहस्यमय मान्न थालिएको छ ।

भैरहवा नाकामा मात्र कडा पारिनाले भैरहवाबाट हुने गरेको व्यापारिक कारोबार अहिले कपिलवस्तुको कृष्ण नगर नाकाबाट आयत निर्यात हुन थालेको छ ।

चेकजाँच कडाइले सिमानादेखि नेपालतर्फ करिब ५ किमि सडकमा मालबाहक गाडीको लाइन लागेको छ । गाडी चालक र मजदुरले खर्च सकिएर बिचल्ली हुन लागेको बताएका छन् । ‘केही दिनअघि चेकजाँच खुकुलो बनाउँदा सबै समस्या समाधान भएका थिए र पहिलाकै जस्तो आयात–निर्यात सहज बन्न थालेको थियो,’ भैरहवा भन्सार कार्यालय प्रमुख भूपालराज शाक्यले भने ‘भारतीय पक्षले फेरि कडाइ गर्न थालेपछि आयात–निर्यात प्रक्रिया असहज बन्न थालेको छ । भन्सार राजस्व पनि प्रभावित छ ।’

यस वर्ष भैरहवा भन्सार कार्यालयलाई राजस्व असुली गर्न तोकिएको लक्ष्यअनुसार दैनिक १८ देखि २० करोड रुपैयाँ संकलन गर्नुपर्ने उनले बताए । तर, यो कडा चेकजाँच प्रक्रियाले दैनिक १२–१३ करोड रुपैयाँ मात्र संकलन हुने गरेको छ ।

भैरहवा नाकामा गरिएको सुरक्षा कडाइले आयात–निर्यात प्रभावित भएपछि एक साताअघि नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डीआईजी रन्जीत सिंह, नेपाली सुरक्षा निकायका प्रमुख र दुवै देशका स्थानीय व्यापारिक संघ–संस्थाका पदाधिकारीसहितको सीमावर्ती नेपालको बेलहियामा छलफलले बेलहिया सुनौली नाकामा भइरहेको असहज परिस्थीतिलाई सहज बनाउने सहमति भएको थियो ।

छलफलमा भारतीय सुरक्षा अधिकारीले सीमा क्षेत्रमा ढुवानीमा अवरोध नहुने गरी चेकजाँच गर्न सहमति जनाएका थिए । सहमतिबमोजिम एक–दुई दिन केही खुकुलो भए पनि पुन चेकजाँच प्रक्रियालाई पारबहनमै असर हुने गरी कडा पारेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.