भर्खरै

प्रहरीले रोक्दा रोक्दै स्थानीयले भत्काइदिए भारत सीमाको बाँध

कोशीलगायत भारतद्वारा निर्मित एकतर्फी बाँधले तराई डुबानमा पर्दा सरकारले भारतसँग कुरा गर्न नसकेका बेला नवलपरासीमा स्थानीयले भारतीय बाँध भत्काउने प्रयास गरेका छन् ।

पश्चिम गण्डक नहरका कारण आफ्नो घर र खेतबारी डुबानमा परेको भन्दै नवलपरासीस्थित २०० को संख्यामा आएका सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका हुन् । यद्यपी बाँध भत्काउन नहर खनिरहेका सुस्ताबासीलाई स्थानीय प्रशासनले निकासका लागि भारतसँग कुरा गर्ने भनी तीन दिनको समय माग्दै फकाएको छ ।

स्थानीय एक युवकका अनुसार सुस्ताबासीले गण्डक नहरका ३ देखि ४ मिटरजति बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेन्, त्यही बेला स्थानीय प्रशासनले तीन दिनको समय माग्दै स्थानीयलाई रोक्यो । उनीहरुलाई प्रहरीले रोकेको थियो।


हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयवासी फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका थिए । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनुपर्ने माग गरेका छन् । नहरको पानीले घरबास उठिबास हुन लागेको र एक हजार बिगाहा भन्दा बढी धानबाली नष्ट गर्न थालेको गुनासो उनीहरुको छ ।

नवलपरासीका प्रहरी प्रमुख एसपी मुकुन्द आचार्यले स्थानीयबासी बाँधमा पुगेको पुष्टि गर्दै निकासका लागि भारतसँग कुरा गर्ने भनी तीन दिनको समय दिएर फर्काइएको जानकारी दिए । हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर स्थानीयलाई रोक्यौं, तीन दिनभित्र भारतीय पक्षसँग कुरा गरेर समाधान गर्छाैं,’ उनले भने ।

यसअघि अविरल वर्षाले साउन २९ गते नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको थियो । सबै ढोका खोलेपछि नेपाली भुभाग डुबानमा परेको थियो । कोशी ब्यारेजजस्तै गण्डक बाँधको साँचो पनि भारतसँग रहेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.