राजनीति

माओवादी केन्द्रको सङ्गठन संरचनाबारे छलफल सुरु

काठमाडौँ, १८ जेठ । नेकपा९माओवादी केन्द्र०को सङ्गठन संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा सङ्गठनात्मक संरचनाका विषयमा प्रारम्भिक छलफल सुरु भएको हो । सङ्गठनात्मक संरचना तयार पार्न नेता वर्षमान पुनको संयोजकत्वमा उर्मिला अर्याल, विश्वभक्त दुलाललगायतको एक कार्यदल गठन गरिएको थियो । कार्यदलले तयार पारेको प्रतिवेदन संयोजक पुनले आज अध्यक्ष दाहाललाई बुझाएको थियो ।

विभिन्न दश वटा माओवादी घटकको एकतापछि माओवादी केन्द्रको केन्द्रीय समिति ६९९ बनाइने प्रस्ताव गरिएको थियो । केन्द्रीय समिति भद्दा बनाउन नहुने भन्दै केही नेताले आपत्ति जनाइराख्नुभएको अवस्थामा कार्यदलले भने केही केन्द्रीय सदस्य अझै थपेर पार्टीलाई गाउँगाउँसम्म पु¥याउन आग्रह गरेको थियो । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिमा कार्यदलको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको जनाइएको छ ।

केन्द्रीय समितिको आकार बढाउन हुने र घटाउनु पर्ने भन्ने दुवै तर्कका बीचबाट समाधान खोज्ने तयारी माओवादी केन्द्रले गरेको छ । अध्यक्ष दाहालले भने सङ्गठन विस्तारका लागि गाउँ तथा नगर तहसम्म केन्द्रीय सदस्यलाई नै खटाउने योजनाअनुसार नै केन्द्रीय समितिको आकार बढी बनाइएको बताउँदै आउनुभएको छ । तर केही युवा नेताले भने कार्यकारी केन्द्रीय समिति बनाएर जानुपर्ने धारणा राख्दै आउनुभएको छ । कार्यदलको प्रतिवेदनमाथि बुधबार पुनः छलफल हुने जनाइएको छ ।