राजनीति

आठ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौँ, १८ जेठ । प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुुहाइएको विषयमा छानबिन गर्न गरेको मागमा संसदीय विशेष समिति गठन गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् ।

आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद भवनमा भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा सो समिति गठन गर्न सहमति भएको हो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते नयाँ आवका लागि नयाँ बजेट संसदमा पेस गर्नुभएको थियो ।

बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेटको केही अंश चुुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको सो माग पूरा गर्न सत्तारुढ दलहरु सहमत भएका हुन् ।

व्यवस्थापिका–संसदको आजको बैठकले नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०७० को नियम ११६ अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको हो ।

सो प्रस्तावलाई नेकाका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो । सो समितिको संयोजकमा नेकाका रमेश लेखक रहनुभएको छ । सो समितिमा आठजना सदस्य रहनुभएको छ । समितिको कार्यावधि तीन महिना पन्ध्र दिन तोकिएको छ ।

समितिको कार्यक्षेत्रमा व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नुपूर्व नै राजस्व र व्ययको वार्षिक अनुमान अन्तरनिहीत कतिपय तथ्याङ्क सार्वजनिक भएको सम्बन्धमा सदनमा उठाइएका प्रश्नहरुमाथि दृष्टिगत गरी सो सम्बन्धमा वास्तविकता पत्ता लगाई प्रतिवेदन पेस गर्ने र विगतमा यस सम्बन्धमा भए गरेका विषय समेतलाई अध्ययन गरी सुझाव दिने भनिएको छ ।