राजनीति

प्रचण्डले बाटो बिराएको भन्दै थबाङवासी भन्छन् :अझै ‘क्रान्ति’ चाहिएको छ

पछिल्लो समयमा माओवादीको दसवर्षे ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो ।

सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।
वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए । महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति त बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।’ यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् ।
थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यही भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’
खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् ।
सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् । सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन् । ‘चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न’, बुढा भन्छन्, ‘स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।’
२०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । ‘हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं’, उनी भन्छन्, ‘पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.