राजनीति

संशोधन बिना निर्वाचन भए महाभारत लड्नुपर्छ:-समाजवादी फोरम अध्यक्ष यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी निर्वाचन कुनै पनि हालतमा नहुने बताएका छन् । अधिकारबाट बञ्चित जनतालाई अधिकार नदिई हुने कुनैपनि निर्वाचनले देशमा शान्ति नुहुने बताए ।

सिरहाको लहानमा संघीय समाजवादी फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन भन्दा पहिले जनसंख्याको आधारमा मधेस र पहाडमा स्थानीय तहको संख्या तोकिनुपर्ने बताए ।

उनले संविधान संशोधन नगरि निर्वाचन गरिए मधेस र देशमा महाभारत हुने चेतावनी दिए । उनले भने– ‘महाभारत रोक्न दुवै वटा उपाय छ । त्यो हो संविधान संशोधन र संघर्ष ।’ संघर्षलाई परिभाषित गर्न उनले थपे– ‘संविधान संशोधन नभए मधेसीले महाभारत लड्नुपर्छ । त्यसको लागि सबै योजनाबद्ध तरिकाले तयार रहन निर्देशन र आग्रह गर्दछु ।’

उनले सेना लगाएर निर्वाचन गरिए लोकतान्त्रिक गणतन्त्रणको उपहास हुने भन्दै सेना लगाएर जवरजस्ती स्थानीय तहको निर्वाचन गराए अलग राज्य मधेस निर्माणको लागि संघर्ष हुने बताए । उनले भने –‘त्यसको लागि जुनसुकै प्रकारको शस्त्र उठाउन तयार हुनेछु । तर अधिकार लिनबाट पछाडी हटिदैन ।’

उनले अगाडि भने– ‘या त अधिकार दिन, या त महाभारत लड्न सरर तयार हुनुपर्छ ।’ उनले महाभारतको शुरुवात भए त्यो मधेसमा मात्र नभई पहाड समेत हुने बताए । सम्बोधनको क्रममा आक्रमक रुपमा मनतव्य राखेका यादवले अहिलेको संविधानमा समेत संघीय प्रणाली उल्लेख रहेकाले संघीय प्रणाली भएका मुलूकमा स्थानीय तहको निर्वाचन गराउने अधिकार केन्द्रीय सरकारलाई नभएको बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.