राजनीति

नयाँ शक्ति पार्टीलाई चुनाव चिन्हको संकट

पेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकीकरणको शृङ्खला समाप्त भएसँगै नयाँ शक्ति पार्टीलाई चुनाव चिन्हको संकट हुने भएको छ ।

एकताको पहल अन्तिम समयमा विग्रिएपछि दुई पार्टीले केही दिनयता पार्टीभित्र आन्तरिक छलफल थालेका थिए । संयोग नै यस्तो परेको छ कि, एकताबारे दुई पार्टीको आधिकारिक धरणा शुक्रबार नै सार्वजनिक भएको छ । डा.भटराईले शुक्रबार पत्रकार सम्मेलन गरेर नै एकता समाप्त भएको घोषणा गरे भने उपेन्द्र यादवले पनि आफ्नो पार्टीको बैठकको अन्तिम दिन बोल्ने क्रममा सो कुरा स्पष्ट पारेका छन् ।

एकीकरण नहुने स्पष्ट पारेपनि चुनाव चिन्हका बारेमा दुवै पार्टीले केही स्पष्ट गरेको छैन । फोरम नेपालको चुनाव चिन्ह ‘मसाल’ लिएर नयाँ शक्ति पार्टीले स्थानीय तहको दुई चरणको निर्वाचनमा भाग लिएको थियो । तर असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले चुनाव चिन्ह पाउने नपाउने फोरम अध्यक्ष उपेन्द्रको निगाहमा भरपर्नुपर्ने भएको छ ।

दुवै पार्टीले एकताको ढोका बन्द भएको घोषणा गरेपछि नयाँ शक्तिले अर्काको चिन्ह प्रयोग गर्न नैतिक संकट देखिएको छ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य रामकुमार शर्मासँग यसबारे जिज्ञासामा अबको स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति नभएको बताए ।

‘यदि फोरम नेपालले आफ्नो चुनाव चिन्ह दिएन भने हामी अरु कुनै दलसँग सहमति गरेर चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन्छौ ।’– शर्माले भने ।
‘नयाँ शक्तिलाई मसाल चिन्हबाट निर्वाचनमा भाग लिन दिने हो या नदिने हो त्यो फोरम नेपालको हातमा छ किनभने मसाल त्यो दलको चुनाव चिन्ह हो,’ शर्माले भने, ‘फोरम नेपालले निर्णय गरेपछि मात्र हामी अर्को विकल्प खोज्छौ ।’

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि चुनाव चिन्हको बारेमा अहिले कुनै निर्णय नभएको बताए । विगतमा जे निर्णय थियो, त्यो यथावत रहेको र आउने दिनमा के हुन्छ त्यो अहिले नै भन्न नसकिने उनले बताए ।

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले भने यसबारे निर्णय गर्ने अधिकार सबै भट्टराईलाई भएको प्रतिक्रिया दिए । नयाँ शक्ति पार्टीको संघीय परिषद्को तेस्रो पूर्ण बैठकले महाधिवेशन आयोजक समितिको संयोजक बाबुराम भट्टराईलाई निर्वाचित गरेको छ । नयाँ शक्तिले केन्द्रीय कार्यकारी समिति र संघीय परिषद् बैठकमा पनि चुनाव चिन्ह मसाल कहिँ कतै प्रयोग गरेको छैन ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजक भट्टराईले फोरम नेपाल परम्परागत पार्टी भएकाले एकीकरण हुन नसकेको बताएका थिए भने उपेन्द्र यादवले आफ्नो पार्टीको बैठकमा धारणा राख्ने क्रममा नयाँ शक्ति पार्टी भित्रको अन्तरिक विवादका कारण पार्टी एकीकरण हुन नसकेको धारणा राखेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.