नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आइतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन् ।
विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो । उहाँले एक हप्ताभित्र पनि आफूहरुको माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो ।
त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताउनु भएको थियो । उहाँले विगतमा गरिएका सहमति हेर्ने र विद्यार्थीहरुको सोसम्बन्धि माग सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दुवै विद्यार्थी संगठनका नेताहरुलाई दिनु भएको थियो ।
नेपाल आयल निगमले गएकाे बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैँयाका दरले मूल्य वृद्धि गरेको थियो ।