ताजा समाचार राजनीति

शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गरे ।

उनले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताए । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसलाई आन्तरिकरुपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय भएको उनको भनाइ थियो । नेपाली सेना ज्यानको बाजी थापेर संसार भरी खटिएको भन्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले संयुक्त राष्ट्रसङ्घले समेत नेपाली सेनाको प्रशंसा गरेको उल्लेख गरे ।

“सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक रहेको छ”, उनले भने , “नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन् ।”

दैवीप्रकोपका घटनामा सेनाले अह्म भूमिका निर्वाह गर्दै आएको उहाँले स्मरण गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न सेनाको भूमिका अह्म रहने उनले बताए ।

“नेपाली सेनासित भएको अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ”, उनले भने । उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने उक्त सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृतसहित १९२ को सहभागिता रहेको छ ।

सेमिनारमा डा विष्णुराज उप्रेती, डा शम्भुराम सिंखडा र सांसद डा दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.