साहित्य

नयाँ बर्ष नयाँ यात्रा

 

-यो बाटो कहाँ जान्छ ?
– यात्रुको प्रश्नमा ऊ मुस्कुरायो, बाटो त यहीँ रहन्छ, जानु पर्ने त तपाईँलाई हो, तपाईँ कहाँ जानुहुन्छ ?
– प्रतिप्रश्नमा यात्रु अलमलियो
– अल्मलाइ दिशाबोधको, अल्मलाइ निर्णयको, अल्मलाइ लक्षको
– अँध्यारो कोठामा हरेक दिशा निभेको हुन्छ, रहस्यमय हुन्छ, दृष्टिबिहिन व्यक्ति जता गए पनि ठोकिन्छ, घाउ लाग्छ, रुमलिन्छ

– ठक्कर अबोधताले लाग्दछ, घाउ त्यसैको सदृश्य प्रमाण हो, रुमल्याइको अन्त्य सहज छैन
– सहज छैन ! मतलब समर्पण ?
– मनिसले कहिले समर्पण गरेको छ ?
– हरेक जीवलाई प्रकृतिको प्रत्यक्ष असर पर्दछ, मानिसलाई पनि
– रुखविरुवाका पात झर्छन् पलाउँछन् तर मानिस सदाबहार छ
– ऊ प्रकृतिसँग पौँठेजोरी खेल्छ, काँटछाँट गर्छ र प्रकृतिलाई छकाउँछ
– र जित्छ पनि, जित्न नसके आफूलाई प्रकृतिको अनुकूल बनाउँछ र गिज्याउँछ प्रकृतिलाई
– कहाँबाट सिक्यो यो कला ? कहाँबाट प्राप्त गर्‍यो यो ज्ञान ? कहाँबाट पायो यो दुस्साहस ?
– विगतलाई उसले भुलेको छैन । विगतका एकएक क्षणलाई रेसा बनाएर बटारेको छ, त्यसैबाट बलियो डोरी बनाएको छ, त्यसैलाई चकमक बनाएको छ
– डोरी बलियो छ, उसको र भावी पुस्ताको पनि भार  बहन गर्नसक्ने ताकत छ डोरीमा ।

– चकमक अक्षुण छ ।
– कोर्यो चकमक, सल्कायो विगतका बचेका झुरा सल्कायो, ततायो आफूलाई, पगाल्यो हिउँ
– अहा ! कति सजिलै टेक्यो सगरको माथमा ! कति सहजै पछार्यो प्रकृतिलाई

– विगत अँध्यारो रहेन, हो, आगत अवश्य अँध्यारो छ
– तर कतिन्जेल ?
– आज फेरी यही प्रश्न तेर्सिएको छ तिम्रो सामु
– कतिन्जेल यात्रु ?
– अँध्यारो कोठामा अल्मलिने ? ठोकिने ? आफैलाई आहत गर्ने ?
– कतिन्जेल यही कृया पुनरावृती गर्ने ?
– अबोधतामा यात्रालाई कतिन्जेल रोक्ने ?
– के अन्त यहीँ तोक्ने ?
– या आक्रान्त छौ भयले ?
– भय किन ? भय के को ?
– अन्धकारको ?
– अन्धकार कहाँ छैन ? धवल गिरिका खोँच, कन्दरामा पनि छ
– सानो किस्सा जोडछु यहाँ
– हिमालयको कुनै स्थानमा दुई योगी भेटिए, कुटीमा गए, कुटी बाहिर ईश्वर प्रतिमा  थिया
– हिमपात सुरु भयो
– दुवैमा होड थियो प्रभुभक्तिको
– हिमपातमा जुधेर लागे प्रतिमा बचाउँन, कठै हिउँका ज्वाला कतिन्जेल थेग्न सक्थे ! – भष्म भए
– हिउँले छोपिएका तीन प्रतिमा अवतरण भयो
– के बुझ्यौ ?

– हो, अन्धकार थियो दुवै भित्र, कोरा भक्तिको
– सत्य कोरा संवेदनालाई विश्वास गर्दैनँ
– गहुँको बीज माटो माथि जति रहे पनि अंकुरण हुँदैन
– आत्मसात गर्नुपर्छ माटोलाई तब श्रृष्टिले परिधान लगाउँछे
– अंधकार त भ्रम मात्र हो तर ज्ञान त यहाँ पनि लुकेको छ
– रङ्ग चिन्नसक्ने पहिलो संज्ञा नै अंधकार होइन र ?
– ज्ञान र विवेक अन्धकार कै उपज हुन्
– भलै धवल गिरी किन नहोस् यसका पनि खोंच छन्
– अँध्यारो यस्तै खोंचमा बस्छन्
– अध्यारो निर्जन गुफा र खाडलमै बास गर्छन्
– खैंच समयको लगामलाई, फाल डोरी र निस्क खाडलबाट
– हैन भने निकाल चकमक रगड त्यसलाई, भगाउ विशाल मुख बाएका अन्धकारका राक्षस
– दिशाबोध तत्क्षण हुनेछ

– दिशाबोध हुनेछ, अर्थात् विवेकले सारथी पाउँनेछ
– सारथी युक्त विवेकको रथको पांग्राले लक्षलाई नाप्ने छ
– बहिर हेर त !
– चम्किलो सूर्य देखेर केही याद आयो रु
– हो, यो तिम्रै चकमकबाट निस्केको हो
– यसका सहस्र बाहुहरुले तिमीलाई सहारा दिनेछन्, मार्गनिर्देश गर्नेछन्
– च्याप विगतलाई खोकिलामा, यो भविष्यमा काम लाग्नेछ
– बढ अगाडी उज्यालो तिर
– स्वागत गर नयाँवर्षलाई
– तिम्रो कल्याण सुनिश्चित छ

सबैको जय होस्,
नयाँ वर्षको शुभकामना

0 Comments

  1. नयाँ वर्षको शुभकामनाको साथमा नयाँ सालको लागि शुभयात्रा |

    Reply

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.