साहित्य

गणेश हिमालको काखमा साहित्य र गीत

थानापति (नुवाकोट), २५ माघ । शिरमा मनास्लु, गणेश र लाङटाङ हिमाल तथा गोसाइँकुण्ड तथा फेदीमा सुन जस्ता धान फल्ने थानसिंह फाँट र हरियाली वातावरणबीच स्रष्टाहरूले शनिबार कविता र गीत वाचन गर्दै थानापति साहित्यिक यात्रा सम्पन्न गरेका छन् ।

काठमाडौँ गङ्गबुँबाट बिहान २६ किमि उत्तरपश्चिम थानापति गाविस ९, काफलडाँडा शीतलपाटीमा पुगेका साहित्यकार एवं गायकले प्रकृति, संस्कृति, दैनिक जनजीवन, नैतिकता र राजनीति सबै विषयका कविता र गीत सुनाएर सहभागी गाउँबासीलाई मुग्ध पारे । सहभागी राजीनीतिज्ञ, प्रशासक, योगगुरु र ज्योतिषीले भने मुलुकको राष्ट्रिय स्वरुप र ग्रामीण भेकको सौन्दर्य र निश्छलतालाई जोगाउन आह्वान गरे । ‘संसाक’ साहित्यिक पाक्षिक तथा दीपज्योति आमावि गोगँबु, काठमाडौँले ‘चौथो थानापति साहित्यिक महोत्सव–२०७१’ आयोजना गरेर यो अवसर जुटाइदिएको थियो ।

सुन जस्तो धान फल्ने र मनग्य काफल फल्ने काफलडाँडा सो भेगको जमघटस्थल र चौतारीका रूपमा रहेको छ जहाँ स्थानीय समाजसेवी श्यामकृष्ण पाण्डेले गत साल हावा खाने विश्रामस्थल बनाइदिनुभएको छ । अहिले सो ठाउँ शीतलपाटीले परिचित भएको छ ।

महोत्सवमा राजधानीका २० तथा स्थानीय केही साहित्यकार तथा नुवाकोटका राजनीतिज्ञ, प्रशासक, ज्योतिषी, योगगुरु, शिक्षासेवी र सर्वसाधारणको सहभागिता थियो । ‘गाउँघर साहित्यिक यात्रा,महोत्सवबाट थप ऊर्जा’नाराका साथ भएको सो महोत्सवमा मुलुकको राष्ट्रियता संरक्षण तथा ग्रामीण जनचेतना विकासमा साहित्यकारहरूले आफ्नो प्रतिभा उपयोग गर्नुपर्नेमा जोड दिइयो ।

कविहरूले मुलुकको एकीकृत स्वरूप र नेपाली पहिचाानको संरक्षण तथा शान्ति र समृद्धिमा जोड दिँदै महिला हिंसा र आत्महत्याको विरुद्ध, जाडाले पीडित तथा अन्यायले उत्पीडित जनताका पक्षमा अभिव्यक्ति दिनुभयो । सो अवसरमा राजधानीबाट जानुभएका मोदनाथ प्रश्रित, डा गार्गी शर्मा, डा रमेशचन्द्र अधिकारी, डा शैलेन्दुप्रकाश शर्मा, ज्योतिषी ओजराज लोहनी, प्रभा भट्टराई, भुवनहरि सिग्देल, दामोदर किशोर, श्याम रिमाल, श्यामबहादुर भावुक, विजयध्वज थापा, भैरवी ढुङ्गाना, भगवती भूमिका, शशी पण्डित, हरिमाया भेटवाल, द्रोण पराजुली, राजेन्द्र ढुङ्गाना, विश्व देवकोटा, श्रीहरि फुयाँल, राधेश्याम लेकाली र उदेश पाण्डे तथा शर्मिला थपलिया, कृष्ण मोक्तान, यमनराज पाण्डे, उत्तमराज भेटवाल, हरिप्रसाद पाठक, विपुल पाण्डेलगायतले आआफ्ना कविता र गीत पाठ गर्नुभएको थियो ।

साहित्यकार मोदनाथ प्रश्रितले राष्ट्रिय एकीकरणको प्रारम्भविन्दु नुवाकोटबाटै पृथ्वीनारायण शाहको प्रयत्नलाई अनुसरण गरी राष्ट्रिय अखण्डता बचाउन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र उन्नतिशील राष्ट्र बनाउन सबैले सङ्कल्प गर्नुपर्ने र स्रष्टाहरू विखण्डनकारी प्रवृत्तिलाई हतोत्साह गर्न जुर्मुराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कोही आफैँले पहिले संविधानसभा विघटन गरेर पुनः चुनावमा आए पनि आफूले भने जस्तो नभएकाले जङ्गल जाने सनक देखाउँदैछन्, कानुन, लोकतन्त्र र संसदीय पद्धति नमान्ने र जबर्जस्तीतन्त्रमा चल्न खोज्नेलाई ठेगान लगाउनुपर्छ ।”

उहाँले विसं २०३२ मा लेखेको गीत सुनाइदिएर राष्ट्रिय एकतामा अझ बल पु¥याउनुभयो–

‘तराईवासी, पहाडवासी, हिमालवासी हो
भाइबहिनी हामी पिएका दूध नेपाली आमाको’

थानापतिवासी ज्योतिषी लोहनीले ‘हाम्रो पहिचान के हो’ भन्ने कविता सुनाउँदै उहाँकै भावनासँग मिल्दो कविता सुनाइसक्नुभएको थियो । उहाँको भाव थियो पृथ्वीनारायण शाहले एक बनाएको मुलुकको पहिचान जोगाउन ‘जयपृथ्वी भनौँ’ ।

सभासद् डा प्रकाशशरण महतले नुवाकोटमा साहित्यिक एवं सांस्कृतिक जागरण फैलाउन आह्वान गर्नुभयो । संविधानसभा, प्रस्ताव समितिका सदस्य डा महत भन्दै हुनुहुन्थ्यो,“खेल खेल्न थालेपछि खेलको नियम सबैले मान्नुपर्छ, संविधान बन्नेबित्तिकै नेपाल समृद्धितिर लम्कन थाल्छ, यसमा कसैले भाँजो हाल्नु हुँदैन ।”उहाँका अनुसार सोही क्षेत्र भएर मध्यपहाडी(पुष्पलाल)राजगमार्ग र केरुङसम्म सुरुङ मार्ग बनाउने योजना पनि छ, यसले नुवाकोटलाई धेरै माथि लाने छ । त्यस्तै नेपाली काँग्रेसका स्थानीय नेता बाबुकाजी पाठक, गोविन्द थपलिया, नेकपा(एमाले)का स्थानीय नेता पदम थपलिया, ललितपुरका सहायक प्रजिअ होमनाथ थपलिया, स्थानीय जनज्ञान निकेतन क्याम्पसका प्रमुख ताराप्रसाद पाठक, योगप्रशिक्षक केदारनाथ पाठकले साहित्य, संस्कृतिका क्रियाकलाप गाउँघरमा गरी जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

महोत्सव संयोजक उमेश पाण्डेले भाषा, साहित्य र कलाको श्रीवृद्धिका साथै आन्तरिक एवं बाह्य पयर्टन प्रवद्र्धन गर्ने उद्देश्य रहेको महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि विसं २०६०, ०६४ र ०६५मा यस्तै महोत्सव गरिएको थियो र स्थानीय जनज्ञान निकेतन माविका मा पुस्तकालय स्थापना गरी पुस्तक सङ्कलन गरिएको थियो ।‘संसाक’का सम्पादक तथा दीपज्योति आमावि, साहित्यिक क्लबका संयोजक पाण्डे भन्नुहुन्छ “गाउँका सबै विचारका मानिसलाई एकै ठाउँमा भेला गराउने र जागरण ल्याउने दुवै उद्देश्य सफल भयो, हामी यसलाई निरन्तरता दिनेछौँ ।

राजधानीबाट बाहिर निस्केर गाउँघरमा निस्कने हो भने ग्रामीण जनचेतना फैलने र स्रष्टाले पनि नयाँ ऊर्जा लिई यथार्थ साहित्य सिर्जना गर्न सहयोग मिल्ने कुरामा सहभागी सबै विश्वस्त भएका थिए । महोत्सवको ‘नुवाकोट एफएम’ले प्रत्यक्ष प्रसारण गरेको थियो । स्थानीय ग्राम्य वातावरणको मजा लिन राजधानीबाट हिँड्ने आन्तरिक पर्यटकलाई सेवा पु¥याउन अहिले सो ठाउँमा केही रिसोर्ट पनि बन्न थालेका छन् । माध्यमिककालीन कवि विद्यारण्यकेशरी अज्र्याल थानापतिसँगै जोडिएको सुनखानीमा जन्मेका थिए भने क्रान्तिकारी कवि तथा नाटककार गोपालप्रसाद रिमालको पुख्र्यौली थलो थानसिंह थियो । त्यस्तै आधुनिक कथाकार गुरुप्रसाद मैनाली स्थानीय रिठ्ठेचौर, कुनेखोलामै आइपुगेको बताइएको छ । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.