साहित्य

बनश्री

कर्मण्येवाधिकारस्यः मा फलेषु कदाचनः …. गहन वाक्य …. सोचनीय ठूलो कुरा ….
बिना उदेश्य धरा किन आफ्नो रूप परिवर्तन गर्छे ! नांगिन्छे …. सिंगारिन्छे ….
ऋतु कालको फेरो बदलिनुको अर्थ के …. कर्मको तात्पर्य के ?

निर्जीव कृयाहिन हुन्छ …. जीव कर्मयुक्त हुन्छ ….
जीव अर्थात् क्रियाशील सृष्टि ….. सञ्चार प्रणालीयुक्त प्राणधारी …
चेतनाको सञ्चार हुन्छ जीवमा …. बृक्षमा पनि
बिधाताले उदरपुर्तिको लागि ज्ञानयुक्त बनाएको छ जीवलाई …. उदरपुर्तिको लागि कर्म आवश्यक छ ….
ब्रम्हमा ध्यानलीन योगी पनि उदरयुक्त नै छ …. भिक्षाटन् पनि कर्म नै हो ….
प्रश्न त्यही उठछ …. के उदेश्यरहित कर्म सम्भव छ र ? फलत्याज्य मन कस्तो होला ?
उदेश्य नै नभए कर्म किन आवश्यक भयो र ! यथास्थिति पनि त स्थिति नै हो नि ….
साकाम र निस्काम कर्मको भेद वर्णन यहाँ आवश्यक छैन ….

जीव कर्मयुक्त छ …. शरीरमा ईश्वरांश भएसम्म कर्म गरिरहन्छ ….
खानु कर्म, नखानु कर्म, सुत्नु कर्म, नसुत्नु कर्म, जीवले जे गर्छ गर्दैन त्यो कर्म ….
कर्म फलदायी छ …. ढिलो या चाँडो समयको अन्तर मात्र हुन्छ तर फल हुन्छ ….
आफ्नै स्थितिलाई हेरौँ …. आफ्नै प्राप्तिलाई मनन गरौँ …..
आज जो स्थिति छ त्यसको बीज हामीले इतिहासमा रोपेका थियौँ ….
आज जे प्राप्त छ त्यसको लागि विगतमा केही कर्म गरिएको थियो ….
सुख या दुःख ….. नाफा यो नोक्सान …. प्राप्ति या अप्राप्ति ….
बीज हामीले नै रोपेका थियौँ विगतमा …. वर्तमानमा त बाली भित्र्याइरहेका छौँ
स्मरणशक्तिको सीमा छ …. र त हामी बिर्सन्छौँ …. विगतमा गरिएका कर्म ….
र दोषयुक्त देख्छौँ समय …. दोषी ठहराउँछौ व्यक्तिलाई …. या बिधातालाई

उहिल्यै महापण्डित देवकोटाले भनेथे …. उद्यानमा गई बस तब खुल्दछ तत्व बोध ….
सादर प्रणाम प्रकृतिलाई ….. प्रथम ज्ञानदाता …. प्रथम शिक्षक ….
मनिसको भोकको सीमा रहेन …. निल्न सुरु गर्‍यो प्राकृतिक श्रोतलाई ….
अस्तित्वको महत्व देखेन अन्य चराचरको …. बोटबिरुवाको ….. उद्यान वनको ….
क्रमेणः दोहन गर्न थाले उर्बिको ….मास्न थाले हरियाली बसुन्धराको ….
प्रकृति चुपचाप आफ्नो अस्मिता लुटाउन थाली …. भक्षी बन्दै गयो मानव ….
सोचेन धराले के दिन्छ …. प्राणवायु कसले श्रृजित गर्छ …
रुग्ण मानसिकताले काया रुग्ण भयो …. नास्न थाल्यो बसुधाको असीमित बनौषधी ….
जराले पानी पाएन बृक्षले प्राण त्याग्यो …. ठुस्किइन् पृथ्वी …. चेतावनीलाई पहिरो खसालिन्
वंशविनासमा ठुस्कियो बृक्षहरु …. प्राणवायुको कमी गरिदियो …. गर्मी बढ्यो …. जीवनतत्व पानी सुक्यो
पानी बीना हाहाकार …. काकाकुल परिस्थिति …..
दोषी बिधाता कि विगतका हाम्रो कर्म ?

सुखदुख बृक्षले पनि बुझ्छन् …. जगदीशचन्द्र बोसले प्रमाणित गरिदिएको सत्य हो ….
संवेदना बुझ्न भाषाको आवश्यकता पर्दैन् …. वाणीको जरुरत पर्दैन्
बर पिपलमा पानी चढाउन पुर्खाले त्यसै सिकाएका होइनन् …. कारण, उपलब्धि दुवै थियो ….
ढिला नाङ्गिने र चाँडै पात पलाउने बृक्ष हुन् ती …. प्राकृतिक प्राणवायु प्रशोधन साधन ….
धरासँग टाँसिएर माटोको रक्षा गर्ने रक्षक …. प्रकृतिको पहरेदार …. वन्यजन्तुका आश्रय ….
विवेक हुनु ठूलो कुरा होइन् …. उचित प्रयोग हुनु ठूलो कुरा हो …. जनहितको लागि
पुर्खाले हाम्रो सन्ततीको लागि जगेर्ना गरेको धरा हामीलाई सुम्पेका थिए ….
हामी को हौँ अर्काको नासोमा रजाइँ गर्ने ? हामी को हौँ अर्काको बन्धकी सामान मास्ने ?

कि अहिल्यै बन्ध्याकरण गर …. नजन्माओ सन्तती …. नाश गर मानव जातीको ….
हैन भने रक्षा गर प्रकृतिको …. चराचरको बासको ….. मानवजातीको आधारको ….
फेरि भन्दैछु …. विवेक हुनु ठूलो कुरा होइन् …. विवेकको प्रयोग हुनु ठूलो कुरा हो
रक्षा गर उर्बिको …. रोक बनबिनाश …. जोगाउ प्रकृति …
हस्तान्तरण गर सन्ततीलाई वनश्री …. समय मननले यही भन्दैछ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.