साहित्य

आगो

बिहान आरतीको लागि दीयो बालेँ
दीयोको शिखाबाट उत्पन्न ज्योतिले नेत्रमा अनौठो चमक भरिदियो
उज्यालो फैलियो
अन्धकार कसलाई मनपर्छ र ?
हो, हामी अभ्यस्त छौँ उज्यालोमा बस्न, अँध्यारोमा नेत्र ज्योति पनि हराउँछ
तब आत्तिन्छौं, अताल्लिएर छामछाम छुमछुम गर्छौ, के खोज्न ?
ज्योति…. उज्यालो …. र पाउँनासाथ फेरी शान्त हुन्छौं …
शान्त हुन्छौं, अर्थात् खोज सकियो ? पक्कै होइन

अँध्यारो त छँदै छ, चीर अँध्यारो
सिद्धार्थले राजसी भोग त्यागे ….भटकिए ….
जिजस १३ वर्षको उमेर देखि २९ वर्ष सम्म बिलुप्त भए …. भटकिए
सन्तुष्ट थिएनन् ती ….
शिखाबाट उत्पन्न ज्योतिले मात्र अन्धकार हटेको महसुस गरेनन्
खोजी जारी भयो, अन्धकार सदाका लागि नामेट पार्ने आगोको
बुझे, उज्यालो र अँध्यारो क्रिया पछि उत्पन्न हुने प्रतिक्रिया हुन् ….
अँध्यारो त सँधै बिकराल मुख बाएर बस्ने चिरञ्जिबी ….
प्राप्त दीपकलाई बुद्धले नामाकरण गरे शून्यको दीपक ….मुनीजनले बम्ह दीपक ….
कबीरले त सुफि पन्थानुसार नामाकरण गरे, नामको दीपक ….
बुद्ध र जिजसले बोध गरेको दीपक त प्रेमको थियो ….
दुवैले बोधलाई एउटा दीयोमा भरेर बाँडे, भने, जाऊ ….
यसलाई सदा जीवित राख्नु ….
यसैबाट असंख्य दीयो सल्काउँनु ….
दुवै पुण्य आत्माले भनेका थिए, खबरदार …. भित्र पनि आगो छ
शिखा उत्पन्न नगर्ने …. दावानल ….
त्यसलाई निभाए, भड्किन नदिए ….

हामीले मुन्टो हल्लायौं …. बिर्सियौं ….
स्थिति व्दन्द मात्र हो …. जय पराजय फगत नाटक मात्र ….
लड्दै गनुपर्ने अनिवार्यता बिर्सन्छौं ….
फलत्ः बेला बेलामा जल्छौं …. जलाउँछौं ….
धेरै आफैलाई जलाउँछौ ….
जब अरूलाई जलाउँन उद्यत हुन्छौं, हिटलर जन्मन्छ ….
श्रृष्टि
पूवार्धमा दुई अति विशाल आगोका पीण्ड अन्तरीक्षमा ठोक्किएर भयो
पृथ्वीको गर्भमा अझै आगो छ, बेलाबेलामा बौलाएर ओकल्छ
यही आगोबाट क्रमशः गति र नियमबद्ध भएर जन्मियौं हामी ….
अग्नी अंश …. हृदयमा पनि ….

पुनः
आँखा चिम्लन्छौं …. बिर्सन्छौं …. सबै
पुण्यात्माका बचन …. हामीले दिएको स्वीकृति ….
र जलाउँछौं भित्रको आगो ….
हामी आफैले अहङ्कारले प्रज्वलनशील बनाएर राखेको
विवेक मासेर मलखाद गरी हुर्काएको ….
छणभर मैं स्वाभिमानलाई तिलाञ्जली दिएर अभिमानमा बदल्छौं ….
अभिमान त नयनका पीरो हुन् …. पर्ना साथ आँखा बन्द हुन्छ ….
तर उल्काका उज्यालो बनिदिन्छ अभिमान ….
र सुरुवात हुन्छ आगो लाग्न ….
मनमा ….
आफूलाई पोलेको पत्तो हुँदैन ….
ईर्ष्या …. डाह …. जलन ….

सर्वभक्षी हो अग्नी …. बिनाशक ….
बिनाशको प्रक्रिया देखिँदैन …. भग्नावशेष मात्र दृष्टिगोचर हुन्छ ….
ईन्धन पाउँने बित्तिकै ह्वारह्वार्ती बल्न थाल्छ र जलाउन थाल्छ सम्पर्कमा आएका बस्तु ….
पाठ त बामे सर्ने बालकले पनि सिकाउँछ ….
तातो छुनासाथ हात फुत्त तान्छ र बचाउको लागि रोएर बोलाउँछ ….
हामी दौडन्छौं …. बालकको बचाउको लागि ….
दौड ….
अब आफ्नो बचाउको लागि पनि ….
रोक ….
फैलन नदेउँ ….
भित्रको आगो …..
समय मननले यही भन्दैछ ।

अस्तु ।

0 Comments

Post Comment