समाज

नेपालमा सात सय प्रजातिका जडीबुटी प्रयोग

काठमाडौँ, १९ चैत । नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रूपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रूपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रूपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको वनस्पति विभागका उपसचिव एवम् वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचारप्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको हो ।” तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपातदालचिनी, सुगन्धवाल व्यावसायिक रूपमा खेती भएको छ ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ । विसं २०१६ मा स्थापना भएको विभागले सुरुको समयमा एलोपेथिक औषधिको गुण नियन्त्रण गर्ने कामसमेत गरेको वनस्पति विभागले पछिल्लो समय नेपालका वनस्पतिको अद्यावधिक तथ्याङ्क सङ्कलन, तालिम सञ्चालन, जडीबुटीको खेती विस्तार र संरक्षण गर्दै आएको छ । सबै वनस्पतिमा औषधीय गुण हुने र कुनैमा धेरै र कुनैमा थोरै मात्र हुने गरेको छ ।

अधिकृत क्षेत्री नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरू कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ ।” जडीबुटीबाट प्रशोधित तेलको बिक्री पछिल्लो समय बढेको छ । विदेश लैजाने तेल गुणस्तर छ कि छैन भन्ने हेर्ने प्राकृतिक सम्पदा अनुसन्धान शाखाका प्रमुख ज्योति जोशी भट्टले गत आर्थिक वर्ष २०७१÷७२ मा एक हजार १०० भन्दा बढी गुणस्तर जाँच गरेको जानकारी दिनुभयो ।

उहाँले आव २०७०७१ मा भन्दा यो ६०० ले बढी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तर परीक्षण गरेकोमध्ये ९५ प्रतिशत विदेश निकासी हुँदै आएको छ ।” उत्पादन भएका जडीबुटीमध्ये १०० देखि १५० प्रजातिका जडीबुटी विदेश निकासी हुँदै आएका छन् । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकताअनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालयमार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको छ ।

विभागका महानिर्देशक रामदेवप्रसाद यादवका अनुसार आगामी वर्ष विभागले १६ वटा क्षेत्र बनाएर व्यक्तिगत तथा सामुदायिक क्षेत्रमा जडीबुटी खेती विस्तार गर्नका लागि प्रस्ताव मन्त्रालयमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा ‘एक नगर अनेक उद्यान’ कार्यक्रम विराटनगर, विदुर, पोखरा, भक्तपुरलगायत १० नगरपालिकामा सञ्चालन ग¥यौँ, आगामी वर्ष जडीबुटी उत्पादन कार्यक्रमलाई प्राथमिकता दिन्छौँ ।”

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.