समाज

बिस्केट जात्रा नाइकेको तलब नआउँदा जात्रा अन्योलमा

भक्तपुर, १९ चैत । बिस्केट जात्रा आउन एक साता बाँकी छँदा पनि बिस्केट जात्राका नाइकेहरूको तलब निर्धारण नभए पनि जात्रा अन्योलमा परेको छ ।

जात्रा सञ्चालन गर्ने नाइकेले आफूहरूलाई तलब नदिए जात्राको पूजासमेत रोकिदिने बताएपछि जात्रा नै सङ्कटमा पर्ने भएको हो ।

परम्परा र विधि पु¥याएर पुजारी र नाइकेले पूजा गरेपछि मात्रै जात्रा सुरु हुने परम्परा रहेकामा नाइकेले तलब निर्धारण नगरे पूजा नै रोकिदिने बताएपछि जात्रा सङ्कटमा परेको हो ।

विगतका केही वर्षदेखि नै मासिक रु १५ हजार तलबको माग गर्दै आएको भैरव नाइकेहरूको जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गुठी संस्थान भक्तपुर कार्यालय, सरोकारवाला र नाइकेहरूको संयुक्त बैठकले एक महिनाअघि तलब निर्धारण गरेर पठाए पनि केन्द्रीय कार्यालयबाट अझै तलब स्वीकृत भएर नआएको गुठी कार्यालयले जनाएको छ ।

तलब नभएको र जात्रा सञ्चालनमा समस्या परेकाले काम गर्न नसक्ने भन्दै नाइके पदबाट समेत राजीनामा बुझाएका थिए ।

गुठी संस्थान भक्तपुर कार्यालयका प्रमुख लेखनाथ सापकोटाले बैठकमा भएको सहमतिअनुसार छजना नाइकेलाई प्रतिव्यक्ति रु चार हजार ५०० का दरले मासिक तलब दिने निर्णय गरी माथिल्लो निकायमा पठाए पनि स्वीकृत भएर नआएको बताउनुभयो ।

विगतका वर्षहरूमा भैरव गुठीको नाममा रहेको जग्गाबाट आउने कूत नाइकेहरूले पाउने व्यवस्था गरे पनि धेरैजसो रैथाने भइसकेका र बाँकी करिब ९० रोपनी जग्गाबाट पनि कतिपयले कूत नबुझाउने कारण नाइकेहरूले समस्या झेल्दै आएका थिए ।

छजना नाइकेले बाँडेर लिने गरी वार्षिक कुल रु ८४ हजार मात्रै गुठी संस्थानले दिँदै आएको थियो ।

छजना नाइकेमध्येमा मूल नाइके ज्ञानबहादुर छुँका, मोतीबहादुर सुवाल, लक्ष्मीप्रसाद घेमस, नारायणप्रसाद घेमसु, कृष्णगोपाल नागा रहेका छन् भने नाइकेमध्येका आशाबहादुर छुँकाको मृत्यु भएकाले एउटा पद रिक्त रहेको छ ।

नाइके मोतीबहादुर सुवालले तलब नपाए जात्रा सञ्चालन गर्न नदिने र पूजा नै रोकिदिने बताउनुभयो ।

यसबारे आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि निर्णय हुन नसकेपछि जात्रा अन्योलमा परेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.