समाज

प्रवेशिका परीक्षाः प्रहरीमाथि ढुङ्गा प्रहार

जाजरकोट, १८ चैत । प्रवेशिका परीक्षामा कडाइ गरेको जनाई पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुङ्गा हान्दा एक प्रहरी घाइते भएका छन् ।

अङ्गे्रजी विषयको परीक्षामा जनता उमावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई कडाइ गरेर चिट खोसेको आरोपमा भएको ढुङ्गा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । नेपालीलाई पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । चिट चोराउँदै गर्दा छ निरीक्षक पक्राउ परेका छन् ।

जिल्लाका १९ परीक्षा केन्द्रमा बिरामी भएर परीक्षा दिन नसक्ने विद्यार्थीलाई परीक्षा केन्द्रभित्र उपचार गरिएको छ । स्वास्थ्यकर्मीले आज बाह्रभन्दा बढी विद्यार्थीको उपचार गरेका छन् । उपचार गरिएका विद्यार्थी परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ । महिनावारी भएका छात्रालाई प्याडको व्यवस्थासमेत गरिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.