समाज

भैरवकोट शान्ति पार्कको शिलान्यास

पोखरा, ३ वैशाख । कास्की जिल्लाको दक्षिणभेगको भरतपोखरीस्थित प्रसिद्ध पर्यटकीय तीर्थस्थल कोटभैरव मन्दिर जाने मार्गमा निर्माणाधीन हाइल्यान्ड भैरवकोट शान्ति पार्कको एक कार्यक्रमबीच बिहीबार शिलान्यास गरिएको छ ।

पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको मल्लकालीन तीर्थस्थल कोटभैरव र नजिकैको हुडिकोटको विकासलाई लक्षित गरी निर्माण गर्न लागिएको पार्कको पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल र हाई वान होप आयोजनाका निर्देशक डा किशोरराज भण्डारीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

उहाँहरूले हाई वान होप आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानीको २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की पनि शिलान्यास गर्नुभयो ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले पर्यावरणको संरक्षणका लागि जल, जमिन र जङ्गल संरक्षण गर्नु अपरिहार्य भएको बताउँदै निर्माणाधीन पार्क यस क्षेत्रका सर्वसाधारणका लागि बहुउपयोगी हुने बताउनुभयो ।

राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले पर्यावरणको संरक्षण वर्तमानको प्रमुख आवश्यकता भएको बताउँदै सामुदायिक वनको संरक्षणका साथै तिनीहरूको विकासका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।

हाई वान होपका निर्देशक डा किशोरराज भण्डारीले हाई वान होपले खानेपानी, सामुदायिक विकास आदिका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै विकास निर्माणका लागि स्थानीयवासीको सक्रियता अपरिहार्य हुने बताउनुभयो ।

हाईल्यान्ड भैरवकोट शान्ति पार्कका अध्यक्ष चेतबहादुर महतले लगभग १० रोपनी क्षेत्रफललाई समेटेर बनाउन लागिएको पार्क यस क्षेत्रको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो ।

समाजसेवी केशवराज लम्सालले विकास निर्माणका लागि समाजका सबैको एकताबद्ध सहयोग आवश्यक हुने बताउँदै स्थानीय जागरुकता भएमा विकासका विभिन्न योजनाको खोजी गर्न सकिने बताउनुभयो ।

खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिका पूर्वअध्यक्ष गुरुप्रसाद पौडेलले पार्क निर्माणसँगै यस क्षेत्रको पर्यटकीय सम्भावना थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।