समाज

मिथिलाञ्चलमा पर्यावरण सचेतना अभिन्न अङ्ग

जनकपुरधाम, १५ वैशाख । मिथिलाञ्चलमा पर्यावरण सचेतना जीवन पद्धतिको अभिन्न अङ्ग बनेको देखिन्छ ।

मिथिलाको जनजीवन कृषि व्यवस्थामा आधारित भएकाले पनि प्रकृतिको संरक्षण र सम्वद्र्धन मिथिलावासीको जीवनशैली, रीतिथिति, चाडपर्व र मेलापातको अभिन्न अङ्ग बनेको हो ।

मिथिलाका लोकगीत, सङ्गीत, गाथा, लोकनृत्य, लोकनाट्य, चित्रकला, कथा, भोजन, आभूषण, धारण, विश्वास र उखान–टुक्काका विभिन्न रूप, बिम्ब र प्रतीकमा सन्निहित देखिन्छ ।

पर्यावरणलाई जन्मदेखि मृत्युसम्म मिथिलावासी संरक्षण गर्न सांस्कृतिक तवरले नै बाध्य छन्, बच्चा जन्मिनासाथ सुत्केरी कोठा बाहिर छानोमा जामुन, निमका हाँगा झुन्ड्याइन्छ र कोठालाई गाईको गोबरले लिप्ने गरिएको छ ।

निमका हाँगा र गोबरलाई आधुनिक चिकित्साशास्त्रले पनि सङ्क्रमण निरोधक र पर्यावरण स्वच्छताका लागि सहयोगी भएको स्वीकारेको छ । मिथिलाका लोकगीत आँप, केरा, भाङ, धतुरो, ल्वाङ, बेलिफूल, कमल, बर पिपल, पाकड, अशोक, बाँस, साँढे, गोरू, गाई, सर्प, माछा, सुगा, काग, कमला, कोसी, बलान, आकास, चन्द्रमा, सूर्य, तारा, नवग्रह आदिका सन्दर्भले भरिभराउ छन् ।

मिथिला चित्रकलामा पनि प्रकृतिका चित्र प्रशस्त देखिन्छ र यसका लागि फूल, पात, गोबर, दूध आदि प्राकृतिक वस्तुबाट बनाइन्छ ।

विवाहिता स्त्रीले लिने ब्रत, पूजामा प्रकृति पूजाकै रूप रहेको देखिन्छ । छठमा एक महिना पहिलेदेखि नै डिल सफा गर्ने, पानी स्वच्छ पार्ने र पर्वका दिन डिललाई अरिपनले सजाउने चलन समेत पाइन्छ ।

प्राध्यापक डा. पशुपतिनाथ झा लोकगीतका फागु, चैतावर, वसन्त, झुला, मलार, बारहमासा, चौमासा, छमासामा पनि प्रकृति विभिन्न रूप र भङ्गिमामा विविध छन्द र लयमा चित्रित छ, जसले प्रकृति प्रेमको प्रमाण दिने गरेको बताउनुहुन्छ ।

किसानले खेतमा पहिलो पटक बीउ छर्ने दिन गबलग्गी गर्ने चलन छ । खेतमा गोबरको चिप्रि (गोबरलाई हातले रोटी जस्तो बनाउनु) बनाइन्छ र त्यसमा पाँचै औँंलाको छापसहित अक्षता, फूल र सिन्दुरले पूजा गर्नेलाई प्रतीकात्मक पूजा मानिएको छ ।

संस्कृतिविद् डा. राजेन्द्र विमलका अनुसार पाँचै आँैंलाको छापको पूजाको प्रतीकात्मक अर्थ सृष्टिका मूल पञ्च भौतिक तत्वहरू पृथ्वी, जल ,अग्नि, हावा र आकास अर्थात् सिङ्गो पर्यावरणको पूजा हो । आकास, जल , अग्नि, हावा सबैसित अनुकूल भई अन्न फलाउने प्रार्थना पर्यावरण संरचनाको सुन्दर उदाहररण भएको डा. झा बताउनुहुन्छ ।

षोडस संस्कारमध्ये सबै संस्कार र तीनका विधिले वातावरणीय स्वच्छतामामा जोड दिएको देखिन्छ । मटकोर र कुमरमले जलाशयलाई स्वच्छ राख्ने, डिल भासिएर थुप्रिएको वा बाढीले बगाएर ल्याएको माटो झिक्ने र गहिराइलाई कायम राख्ने सन्देश दिने गरेको पाइन्छ ।

मिथिलाका मधुश्रावनी, छठ, तुषारी, बरसाइत जस्ता पर्वमा विभिन्न प्रकारका वृक्ष लहरा, बिरूवा, पात, फूल र जलाधारको आवश्यतामा हुने गरेको छ । नागपञ्चमी, अनन्त चतुर्दश, अक्षयनवमी, शिवरात्री, भरदूतिया, दशैं, चौठचन्दमध्ये कुनै पर्व यस्तो छैन जसमा प्रकृति र मानवको अन्तरङ्गता नहोस् ।

डा. विमल यस्तो अन्तरङ्गताको मर्म नबुझेर पर्यावरण सचेतनाबाट मैथिल वञ्चित रहेकोमा दुखेसो पोख्दै जीवनशैलीमा घातक घटकको पहिचान गर्दै जीवनशैलीमा परिवर्तनको खाँचौ औँंल्याउनुहुन्छ ।