समाज

आशिषको पोलिग्राफ परीक्षण गरियो

नवलपरासी, १८ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरीएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आएको विज्ञ टोलीले आशिषको पोलिग्राफ परीक्षण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

आशिषको पोलिग्राफ परीक्षण गरिएको भएपनि परीक्षण रिपोर्ट गोप्य राखिएको छ । यसबारे जानकारी दिन बुधबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ । पोलिग्राफको रिर्पोट आउन बुधबार आउछ । प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “पोलिग्राफको रिपोट आएपछि घटनाबारे थप प्रष्ट हुने सहयोग पुग्नेछ ।”

यसैगरी काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट आज प्रहरीलाई बुुझाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “शव परीक्षणको रिपोर्ट प्राप्त भएको छ, बुधबार पत्रकार सम्मेलनमा आशिषलाई गरिएको पोलिग्राफ र मनिषाको शवको परीक्षण रिपोर्टबारे जानकारी दिइनेछ ।”

मनिषा नवलपरासीको बर्दघाट–८ पन्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी आशिष चौधरीसहित अन्य एकजनालाई पनि नियन्त्रणमा लिएको छ । यद्यपी अन्य एक जनाको नाम अहिलेसम्म पनि प्रहरीले सार्वजनिक गरेको छैन ।