समाज

निम्नस्तरका कर्मचारीकोे तलब एकमुस्ट वृद्धि गर्न अर्थमन्त्रीसमक्ष माग

काठमाडौँ, १८ जेठ । सोमबार मात्रै एकीकृत भएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनले न्यूनस्तरका कर्मचारीको भावनालाई सम्बोधन गर्दै रु १० हजारको दरले तलब वृद्धि गर्न माग गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज एक ध्यानाकर्षण पत्र बुझाउँदै ती सङ्गठनले एकमुस्ट रुपमा वृद्धि गरिएको २५ प्रतिशत तलबले सबै कर्मचारीको भावनालाई सम्बोधन गर्न नसकेको बताएको छ ।

यही जेठ १५ गते सरकारले बजेट वक्तव्यमार्फत कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने प्रयास सकारात्मक भए पनि निजामती सेवामा देखिएको विकृति, विसङ्गति हटाई सेवालाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्दै राष्ट्रसेवकको मनोबल उच्च राख्नका लागि सुविधामा भएको विभेदको अन्त्य गर्नुपर्ने कर्मचारीको माग छ ।

अर्थमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मूलतः २५ प्रतिशत तलब वृद्धिले उच्च तहका कर्मचारीलाई मात्रै पोस्ने प्रवृत्ति गलत रहेकाले सच्याउन आग्रह गरिएको छ ।

हरिबहादुर रावल र दयाराम बस्यालले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको सो ध्यानाकर्षण पत्रमा निजामती सेवामा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीको न्यूनतम तलब, महँगी भत्ता र चाडबाड खर्च उपलब्ध गराउन माग गरिएको छ ।

सोमबार मात्रै दुवै सङ्गठन एकीकृत भएको थियो । बुधबार हुने आधिकारिक टे«ड युनियनको निर्वाचनमा सहभागी हुन समेत सङ्गठनले सबै कर्मचारीलाई आग्रह गरेको छ ।