समाज

रासस सञ्चालक समिति सदस्यमा भण्डारी

काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त सञ्चालक समिति सदस्यमा उपसचिव गोविन्दसिंह भण्डारीलाई नियुक्त गरेको छ ।

मन्त्रालयको यही जेठ १० को निर्णयअनुसार अर्काे आदेश वा व्यवस्था नभएसम्म उहाँलाई सो पदमा मनोनयन गरिएको हो । विसं २०२१ मा धनकुटाको आँखीसल्लामा जन्मनुभएका भण्डारी एक महिनाअघि गृह मन्त्रालयबाट सञ्चार मन्त्रालयमा सरुवा हुनुभएको थियो ।
विसं २०४४ मा भूमिसुधार कार्यालयको खरिदारबाट निजामती सेवा आरम्भ गर्नुभएका उहाँले स्थानीय विकास मन्त्रालय मातहत खाँदबारी, लहान र मध्यपुरथिमि नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ काभ्रेपलाञ्चोकको सहायक प्रजिअ र ओखलढुङ्गाको कामु प्रजिअ पनि हुनुभएको थियो ।