समाज

सर्पदंश उपचार केन्द्रमा ‘एन्टिस्नेक भेनम’ अभाव

कञ्चनपुर, १८ जेठ । कञ्चनपुरको अर्जुनीमा दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रमा ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ ।

नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टिस्नेक भेनम’को अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र पठाउन थालिएको छ ।

सर्पदंश लागेका बिरामीलाई निःशुल्क उपचारका लागि जनस्वास्थ्य कार्यालयले भेनम उपलब्ध गराउँदै आएको थियो । केन्द्र सञ्चालक समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले भन्नुभयो, “जेठको दोस्रो सातादेखि भेनम सकिएपछि उपलब्ध हुन सकेको छैन ।”

समितिसँग समेत आर्थिक अभाव भएकाले उपचार सेवा प्रभावित भएको उहाँको भनाइ रहेको छ । “अक्सिजन सिलिन्डरको बिर्को बिग्रिएपछि झनै उपचारमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

दातृ निकायसँग भेनम उपलब्ध गराउनका लागि पहल गरिरहेको भएपनि हालसम्म पाउन नसकिएको केन्द्र सञ्चालन समितिका कालुसिंह ठगुन्नाले बताउनुभयो । केन्द्रमा दुई वर्षको अवधिमा सर्पदंशका १६० बिरामीको उपचार गरिएको छ ।

तीमध्ये वैशाख र जेठ महिनाको हालसम्म सर्प दंशका १८ जना बिरामीको उपचार गरिएको छ । उपचार केन्द्रमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका, झलारी पिपलाडी नगरपालिका, देखतभूली गाविसलगायत क्षेत्रका बासिन्दाले सेवा लिँदै आएका छन् ।