समाज

प्लास्टिकका भाँडाले कुमालेको पेसा सङ्कटमा

1353905751793

पाल्पा, भदौ १५ । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा सङ्कटमा परेको हो । रामपुर–१५ गेझा गाउँ कुमाल समुदायले ढाकेको छ ।

पहिले पहिले माटोका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले यस समुदायबाट पेसा नै लोप हँुदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।

यहाँका ३०० घरपरिवारमध्ये अहिले केही घर परिवारले मात्र माटोको भाँडा बनाउने गरेका छन् ।

स्थानीय महेन्द्र कुमाल बजारको अभाव, प्लास्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै जाँदा पेसा लोप हुने अवस्थामा पुगेको बताए । परम्परा जोगाउनका लागि माटोको भाँडा बनाउँदै आएको कुमाललेको भनाइ छ ।

“माटोको भाँडालाई बजारको समस्या छ,” उहाँले भन्नुभयो । यहाँ उत्पादित हाँडी र घैँटोको आकार हेरी रु २०० देखि रु ५०० सम्म मूल्य पर्छ । स्थानीय मनबहादुर कुमाल लागतअनुसारको मूल्य पाउन नसकेको बताए ।

जिल्लाका घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गदै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले उनीहरुको पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न थालेका छन् ।

कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल हुन् सकेको छैन । सस्तो र कमसल खालका प्लास्टिकका भाँडा गाउँगाउँसम्म सहजै उपलब्ध हुन थालेको छ ।