समाज

जयरामको चिन्ता ‘पांच लाख नहुदाँ ३२ लाखको अमेरिकी छात्रवृती गुम्ने भो ’

पोखरा / चार वर्ष अघि पोखरातर्फ हानिँदा चितवनका जयराम लामिछानेको एउटै उद्देश्य थियो – एसएसलीमा उत्कृष्ट अंक ल्याउने, राम्रो पढेर आँखा नदेख्ने छोरो भनेर पिरोलिने बुबाआमालाई राम्ररी पाल्ने । उनले खुबै मेहनत गरे । उस्तै मिठो उपलब्धि पनि हाँसिल भयो । तर उद्देश्य यत्तिमै सीमित रहेन । कडा मेहनतपछि प्राप्त उपलब्धिले अवसरहरुको ढोका मज्जैले खुले । जयरामको लक्ष्यको बाटो भरतपुर, पोखरा पछि काठमाण्डौं हुँदै अमेरिकातर्फ अघि बढेको छ । तर केहि आर्थिक जोहो गर्ने सामथ्र्य नहुँदा पाएको अवसर पनि गुम्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।

दुई हजार चार सय डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउन नसक्दा दृष्टिविहिन युवा जयरामले झण्डै ३२ लाख बढि बराबरको अमेरिकी छात्रवृत्ति गुमाउनुपर्ने अवस्था छ । आई ट्वेण्टी आईसकेको छ भने पाँच लाख जुटाउन सके केहि महिनामै अमेरिका पुग्नेछन् ।
jayaram-lamichhane
भरतपुर–११ का २१ वर्षीय जयराम पूर्ण दृष्टिविहीन हुन् । शारीरिक दृष्टि नरहेपनि ज्ञानको दृष्टि तेज भएपछि जयरामले कक्षाका अन्य सबलाङ्ग प्रतिष्पर्धीलाई जहिल्यै पछाडि पारे । पहिलो नम्बर सधैं आफैं कब्जामा पारे । २०७० को एसएलसीमा अमरसिंह नमुना उच्च माविबाट ८१.८७ प्रतिशत अंकका साथ विशिष्ट श्रेणीमा उत्तीर्ण भए ।

जयराम परिवारमा एक्लो छोरो हुन्। एउटा आँखा धमिलो देख्ने उनको आठ वर्षकै उमेरमा लुकामारी खेल्दा त्यही पनि गुम्यो । एउटै छोरो पनि आँखा देख्दैन भनेर बुबाआमाप्रति तेर्सिएको शब्द वाणले घोच्यो । त्यसपछि मात्रै अक्षराम्भ गरेका उनी कक्षा आठसम्म भरतपुरमै पढेपछि ९ र १० कक्षा पढ्न पोखरा आएका हुन् । एसएलसीमा डिस्टिंक्सन ल्याएपछि काठमाण्डौं पुगे । जयरामले गोल्डेनगेट ईन्टरनेशनल कलेजबाट ट्राभल एन्ड टुरिजम विषयमा प्रवेश परीक्षा दिए । पूर्ण छात्रवृत्तिमा त्यहाँ पढ्न कम्ता पापड बेल्नुपरेको थिएन । उनले सबलाङ्ग विद्यार्थीलाई समेत पछि पारेर एक नम्बरमा नाम निकाले र ७० प्रतिशतकासाथ १२ कक्षा उत्तीर्ण गरे । नेपालमा टुरिजम म्यानेजमेन्ट पढ्ने आफू पहिलो दृष्टिविहीन विद्यार्थी रहेको उनी हाक्काहाक्की सुनाउँछन् ।

उनले पुरानो आईफोन बोक्छन् । विदेशी नागरिकले सजिलो हुन्छ भन्दै उपहार छाडेको त्यही फोनले उनलाई अमेरिकाको छात्रवृत्तिका लागि योग्य बनाउनसम्म सहयोग पु¥यायो । ‘मैले कोलोराडो सेन्टर फर द ब्लाइन्डबाट स्कलरशीपको व्यवस्था हुन्छ भन्ने थाहा भएपछि यही मोबाईलबाटै अनलाईनमार्फत आवेदन दिएको थिएँ । अन्त्यमा म एक्लो छनौट हुन सकेँ । यही मोबाईलले जुटाएको अवसर हो यो ।’ हर्षित हुँदै भने ।

अमेरिकी संस्था कोलोराडो सेन्टर फर द ब्लाइन्डले वर्षेनी एक जना दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ । जसले विश्वविद्यालयमा भर्ना योग्य बनाउन आवश्यक तालिम प्रदान गर्ने गर्छ । जसका लागि विश्वभरका दृष्टिविहीनले आवदेन दिन सक्नेछन् । जयरामले सन् २०१७ का लागि त्यो सुविधा हात पारे । यही अगष्ट १६ मा भिसाका लागि सहमतिको आधिकारिक पत्र आई ट्वेण्टी समेत आईसकेको उनले जानकारी दिए । छात्रवृत्तिअनुसार उनले त्यस संस्थामा आठ महिना इन्डिपेन्डेन्ट ट्रेनिङ लिनेछन् र त्यसपछि संस्थाले अध्ययनका लागि विश्वविद्यालयमा सिफारिस गर्नेछ । लामिछानेले सो संस्थाबाट ३१ हजार २०० अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । उनी पाँच मार्च २०१७ मा इन्स्टिच्युट पुगिसक्नु पर्नेछ भने २ डिसेम्बरभित्र दुई हजार चार सय डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउनुपर्ने बाध्यता छ ।

पहिलो दृष्टिविहीन सगरमाथा आरोही एरिक वाइनमेयर उनका आदर्श पात्र हुन् । ‘एरिकले सगरमाथा चढे, मैले पनि अहिलेसम्म जिन्दगीका खुड्किला सफलतापूर्वक चढिरहेको छु । अब टेको लगाउने लौरोको आवश्यकता भो ।’ उनले थपे– ‘पाँच लाख रुपैयाँको जुगाड गर्न नसक्दा ३१ हजार दुई सय अमेरिकी डलर बराबरको छात्रवृत्ति गुम्यो भने म आफै के गर्छु, कता हिँड्छु पत्तो छैन ।’

अस्पतालमा मजदुरी गर्ने बुबाको हातका चार औंला जेनेरेटरले चुडाईदियो । आमा दमकी बिरामी । एउटी दिदीको बिहेबारी भईसक्यो । घरमा बेचिखाने जायजेथा छैन । उनी कोलोराडो सेन्टर फर द ब्लाइन्डले पठाएको आइ–ट्वान्टी र अन्य कागजात बोकर सरकारी तथा गैरसरकारी संघ–संस्थाको ढोका चाहार्दा चाहार्दै वाक्क भए । सिंहदरबारदेखि विभिन्न सञ्चारमाध्यम पुग्दा केहि भएन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगे । दृष्टिविहीनको कुरा सुनिएन । त्यसपछि नाम चलेका पत्रकार खोज्दै विभिन्न सञ्चारमाध्यम चाहारे । एउटा अनलाईन बाहेक अरुले ठाउँ नदिएपछि गृहस्थान चितवनका संघसंस्था गुहारे । जम्मा १३ सय हात परेपछि उनले पोखरा नै सम्झे र सहयोगका लागि पोखरेलीमाझ अपिल गर्न यहाँ आए । अर्की दृष्टिविहीन साथी अनुजा गौतमले पनि उनको लागि सक्दो सहयोगको पहल गरिरहेका छन् ।

उनलाई अमेरिका जाने बाध्यता किन पनि छ भने टुरिज्म एण्ड ट्राभल पढेका उनका लागि नेपालमा अब आगामी शिक्षाका लागि पुस्तक नै छैन । ‘पुस्तक नै नभएपछि पढाई के होला ? यहाँ दृष्टिविहीनहरु अरु सामान्य मान्छे जस्तै परीक्षा दिनुपर्ने अवस्था छ । हाम्रा लागि केहि छैन ।’ उनले भने– ‘अपागंता भएकालाई अवसर दिइयो भने, केही गर्न सक्छन् भन्ने कुराको पुष्टि गर्न म तयार छ । अध्ययनपछि नेपाल फर्केर तपाइँहरुकै अगाडि केही गरेर देखाउने प्रतिबद्धता जनाउँछु ।’

एउटा निम्न आय भएको घरका दृष्टिविहीनका लागि सहयोग मिल्नेमा ढुक्क हुँदै उनले कुरा टुंग्याए – ‘सहयोगका लागि ९८०२०५२०९९ वा नबिल बैंक चितवन भरतपुर शाखा खाता नम्बर २४१००१७५१०३६३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।’

स्रोत: मज्जाको न्युज

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.