समाज

त्यस्तो गाउँ जहाँ छ महिना बाँदर धपाएरै बस्नुपर्छ

१६,मङ्सिर । भिर र जङ्गल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन यहाँका बासिन्दालाई हम्मे हम्मे पर्ने गरेको छ ।

बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन् । गाउँभरीका बालबालिका जम्मा हुन्छन् । उनीहरु बारीमै खैल्छन् । खाजा त्यहीँ खान्छन् । अनि साँझ परेपछि मात्र घर फर्कन्छन् । “बाली पाक्ने बेलासम्म कहिले स्कुल जाँदैनौँ,” सोताङ गाविस– ६ का १२ वर्षीय नौकुवीर नाछिरिङले भन्नुभयो ।

बारीमा कोदोबाली पाक्नथालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन् । जङ्गल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने गरेका छन् । “बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ,” सोताङ– ६ रोककी तुलीमाया नाछिरिङले भन्नुभयो ।

अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकाको हुने गरेको छ । उनीहरु वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्नमै बिताउँछन् । कात्तिक–मङ्सिरमा कोदो, चैत–वैशाखमा गहुँ जौ, जेठ–असारमा आलु तथा साउन–भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले बालबालिका सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ ।

“बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइ निकै प्रभावित हुने गरेको छ,” स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले भन्नुभयो । बाली पाक्ने बेलामा विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ । बालबालिका साँझसम्म बाँदर खेद्न जान्छन् भने अभिभावक रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ । दुम्सी र भालु धपाउन अभिभावकको बास बारीमै हुने गरेको छ ।

“बाली उठाउने बेलामा त विद्यालय रित्तै हुन्छ,” शिक्षक नाछिरिङले भन्नुभयो । बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डर रहन्छ । जनावरले गाउँका केही बालबालिकालाई घाइते समेत बनाएको छ । चार वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्यु भएको शिक्षक नाछिरिङले बताउनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.