समाज

प्रहरी र स्थानीयबीच झडप

राजविराज,२२पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ मा आज दिउँसो मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सो झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न १० राउण्ड अश्रुग्यास समेत गरेको छ । यता स्थानीयले फ्यालेको ढुङ्गाबाट केही प्रहरी घाइते भएको स्थानीयले बताएका छन् । झडपका कारण करिब तीन घन्टा राजमार्ग अवरुद्ध समेत भएको थियो ।

यता प्रहरीले बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ । ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.