समाज

‘देश बलियो बनाउने हो भने आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ’

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन्।

जी.पी. कोइराला फाण्डेशनद्वारा काठमाडौंको कामाद कलेजमा आयोजित साइवर अपराध सम्बन्धी एक दिवसीय सचेतना मुलुक कार्यक्रममा बोल्दै बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धीतर्फको यात्रा सहज हुने बताइन् ।

‘देश बलियो बनाउने हो भने अपराध र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उनले भनिन्,‘अपराधी र आतंककारीले युवाहरूलाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ ।’ राष्ट्रभन्दा ठूलो कोही नहुने भन्दै सबैले देशको हितमा केन्द्रित भएर सबै अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

देशको हितका लागि कस्तो कानुन चाहिन्छ त्यो बनाउनुपर्छ । अपराध गर्ने र तारोमा पर्नेमा युवाहरू बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताइन् ।

साइबर अपराधमा बढी युवाहरू प्रभावित पारेकोले त्यसविरुद्ध सबै मिलेर लड्नुपर्नेमा जोड दिइन् ।
आतंकारीहरूले समेत इन्टरनेटको दुरुपयोग गरी युवाहरूलाई आतंककारी गतिविधिमा प्रयोग गरेकोमा सबै गम्भीर हुनुपर्ने बताइन् ।

जी.पी. कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहेकी कोइरालाले साइबर अपराधविरुद्ध कडा कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिइन् । कानुनको सही उपयोग र प्रहरी प्रशासनलाई प्रभावशाली बनाउन सके अपराध नियन्त्रण सहज हुने बताइन् ।

कोइरालाले युवा लक्षित कार्यक्रम देशव्यापी बनाउने बताइन् । गिरिजाप्रसाद कोइरालाले सधै युवाहरूबारे चिन्तन गर्नुभएको उल्लेख गर्दै युवालाई सक्षम र देशलाई समृद्ध बनाउनेतर्फ आफू खटिइरहने बताइन् ।

साइबर अपराधका जानकार एवं प्रहरी नायब उपरीक्षक पशुपति रायले नेपालमा भइरहेका साइबल अपराध र घटनाहरूको व्याख्या गरे । चालु आर्थिक वर्षमा ६०० उजूरी आएको र गत आर्थिक वर्षमा १७ मुद्या दर्ता गरेको जानकारी गराए ।

साइबर अपराधसम्बन्धि विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराए । कसैलाई विश्वास गरेर सामाजिक सञ्चालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव दिए ।

आफूले राखेको तस्वीर र पोष्टले भविष्यमा करिअरमा नोक्शान पु¥याउनसक्नेतर्फ सचेत रहन भने । अर्काको सामाग्री चोरेर पोष्ट गर्ने गतिविधिले गम्भीर घटना निम्त्याएको जानकारी गराए ।

अभिभावकहरूले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिए । अनलाइनमार्फत् चाइल्ड सेक्स टुरिज्मका संगठित अपराधीहरूले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकोमा सचेत रहन भने ।

साइबर अपराधमा रोकी, हेरी मात्र बढ्ने सोचलाई मनन गर्न सके अपराधबाट बच्न सकिने बताए ।

कार्यक्रममा कामाद कलेजका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.