भर्खरै समाज

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा पाएपछि सेवा प्रभावकारी

जाजरकोट, ५ पुस । स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि नलगाड नगरपालिकाले विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा वितरण गरेको छ । नगरपालिकाभित्रका वडा नं ३, ७ र १२ मा रहेका स्वास्थ्य संस्थामा सौर्य ऊर्जा सहयोग गरेसँगै यहाँको सेवा प्रवाहमा सुधार आएको छ ।

विद्युत् नभएर सुत्केरी सेवा, ल्याब सेवा सञ्चालनमा समस्या हुँदै आएका यी ठाउँमा अहिले सौर्य ऊर्जाबाट सबै काम गर्न सजिलो भएको औलगुत्तास्थित स्वास्थ्य संस्थाका सुमिना चन्दले बताउनुभयो । मोबाइल, टर्च र सल्लीको दियालो बालेर प्रसूतिगृहमा सेवा प्रवाह गर्दै आएका स्वास्थ्य संस्थामा अहिले सेवा लिन आउने सेवाग्राहीसमेत खुशी छन् ।

डाँडागाउँ, दल्ली र औलगुत्तामा पहिलो चरणमा सौर्य ऊर्जा दिएर राम्रो सेवा प्रवाह भएको पाइएको र अब पूर्ण मागका आधारमा अन्य ठाउँमा सेवा दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । कैनास्थित स्वास्थ्य संस्थामा यो आर्थिक वर्षमै खानेपानी र सुविधायुक्त शौचालय निर्माण कार्य जारी रहेको छ ।

नगरपालिका भित्रका १, ४, ५, ६, ९, १० र १२ नं वडामा सङ्घीय सरकारको सहयोगमा नयाँ सुविधायुक्त भवन निर्माण कार्यसमेत शुरु गरिएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नयाँ भवनसहित स्वास्थ्यकर्मी नियुक्तिको काम शुरु गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.