भर्खरै समाज

वृद्धा हत्याको अभियोगमा एक पक्राउ

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका वर्ष ३९ का खिमबहादुर श्रीपाली रहेका छन् ।

अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो ।

वृद्धाको हत्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

अभियुक्त श्रीपालीले मृतकको साथबाट चोरी गरेका गहना बिक्री गरेको पसलबाट बरामद गरिएको र खरिद गर्नेलाई कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.