स्वास्थ्य

एक सय ४८ बालबालिकामा कडा खालको कुपोषण

१८ कात्तिक । ‘कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन भएकोे तीन महिनाभित्र तीन हजार ४१५ बालबालिकामा पोषण स्थितिबारे जाँच गरिएकामा बैतडीमा १४८ जनामा कडा खालको कुपोषण देखिएको छ ।

विभिन्न गाविस तथा नगरपालिकाका छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणको स्थितिका बारेमा जाँच गरिएको कार्यक्रमका कडा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

जाँच गरिएका बालबालिकामध्ये १४८ जनामा कडा खालको कुपोषण देखिएको छ भने ३९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ । कडा खालको कुपोषण देखिएका बालबालिकामध्ये ७९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

जिल्लाका विभिन्न नौ ठाउँमा सञ्चालन गरिएको कार्यक्रममा कडा कुपोषण भएका बालबालिकाको निःशुल्क उपचार गरिएको कार्यक्रमका तथ्याङ्क अधिकृत सुष्मा राइले जानकारी दिनुभयो ।
प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वयम्सेविका, अन्य स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीमार्फत बालबालिकाको पोषणको स्थितिका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उहाँले बताउनुभयो ।
मध्यमखालको कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई बालबालिको पोषणको स्थितिमा सुधार ल्याउनका लागि परामर्श दिने गरिएको संयोजक पराजुलीले जानकारी दिनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.