भर्खरै स्वास्थ्य

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सो मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए । अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो

प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पताललाई पुग्ने जनाएको छ । अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ । सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरलले जानकारी दिए ।

स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिए ।

उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा–कोठामा पु¥याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

अस्पतालका अनुसार रु ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र रु ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् ।

‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो । अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ । ‘रेफर सेन्टर’को रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ ।

अस्पतालमा यही आर्थिक वर्षदेखि ‘हाई केयर युनिट’ समेत स्थापना गर्न लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले रु ५० लाख बजेट विनियोजनसमेत गरेका छन् । अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.