भर्खरै समाज स्वास्थ्य

कोरोना सन्त्रासः यस्तो छ सुदूरपश्चिमको तयारी र सक्रियता

धनगढी । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि मुलुकभर अपनाइएको सावधानीसँगै सुदूरपश्चिम प्रदेशमा पनि चौतर्फी चुनौतीबीच सतर्कता अपनाउनाका साथै आवश्यक व्यवस्थापन प्रयास भइरहेको छ । सुदूरपश्चिमेलीहरुको रोजगारीको प्रमुख गन्तव्य भारत हो । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६७३ जना नागरिक भारतमा रहेका छन् । यसरी भारत गएकामध्ये करिब ७०.१४ प्रतिशत नागरिक रोजगारीका लागि र त्यो पनि अधिकांश मजदुरीका लागि भारतमा छन् ।

सिमावर्ती भारतीय बजारसम्म कोरोनाको सङ्क्रमण फैलिरहँदा सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी, कैलालीको त्रिनगर भन्सार नाकाबाट आएका हजारौं नागरिकलाई सामान्य तापक्रम परीक्षण गरेर छाडिनुले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहेको धेरैको भनाइ छ ।

पछिल्लो डेढ सातायता मात्र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७० हजारको हाराहारीमा नेपाली घर फर्किएका छन् । गड्डाचौकीलगायका नाकामा स्वास्थ्य जाँच गर्ने डेस्क राखिएको छ र नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने, ‘यहाँका नाकाबाट भित्रिनेहरु धेरै पहाडी जिल्लाका नागरिक रहेको पाइएको छ, उनीहरुको स्वास्थ्य जाँच पनि भएको छ तर प्रत्यक्षदर्शीहरु यो जाँच पर्याप्त नरहेको बताउँछन् ।’

यहाँको महाकाली अस्पतालमा हालसम्म पाँचजना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएकालाई आइसोलेसन कक्षमा राखिएको उनले बताए । ‘दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य तीनजनाको स्वास्थ्य रिपोर्ट आइसकेको छैन ।’ भट्टले भने, ‘सीमानाका सबैतिर हेल्थ डेस्क राखिए पनि धेरै नागरिक लकडाउनपछि पनि लुकीछिपी आएको भन्ने पनि छ ।’

कञ्चनपुरमा दश वटा आइसोलेसन कक्ष र जिल्लाका विभिन्न स्थानीय तहमा गरी करिब २०० श्ययाको क्वारेन्टाइन बनाइएको छ । गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणदेखि क्वारेन्टाइन निर्माणसम्म नेपाली सेनालगायतको सुरक्षा निकाय सक्रिय रुपमा लागेको छ । ‘यहाँका प्रायः सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेका छन्’ उनले भने, ‘स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सुरक्षा र उपकरणको प्रबन्ध पनि हुँदै गएको छ ।’

भारतबाट भित्रिएकाहरु प्रायः यहाँका सात पहाडी जिल्लाका स्थानीय हुन् । उनीहरुको तथ्याङ्क सङ्कलन गरेर स्वास्थ्य परीक्षण तथा निगरानीको ध्यान अझै नपुग्दा सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा छ । ‘हामी भारत र नेपाली नाकामा दश पटक परीक्षण गरेर आएको घर छाडेर किन क्वारेन्टाइन बस्ने भन्दै स्वास्थ्यकर्मीलाई हप्काउँछन् ।’ कोभिड–१९ बैतडीका सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले भने, ‘उपकरणलगायत सुरक्षा सतर्कता नहुँदा जिल्लामा स्वास्थ्यकर्मी नै असुरक्षित रहेको गुनासो आउँदैछ ।’

गएको बिहीबार बैतडीकै पुच्र्यौडीमा क्वारेन्टाइनमा बस्न आग्रह गर्दा स्वास्थ्यकर्मीमाथि नै हातपात भएको बताए । ‘बितेको एक महिनामा दुई हजार ४०५ जना यहाँको झुलाघाटनाकाबाट बैतडी भित्रिएको तथ्याङ्क छ । उनले भने, ‘लकडाउनपछि लुकीछिपी आएकाको तथ्याङ्क हुने कुरै छैन ।’ उनले स्वास्थ्य परीक्षण नगरी आउनेहरुबाट सङ्क्रमण फैलिने बढी जोखिम रहेको बताए ।

‘यो अति संवेदनशील भएर सर्वपक्षीय पहलबाट लाग्नुपर्ने विषय हो’ उनले भने, ‘एउटा स्वास्थ्यकर्मीका भरमा क्वारेन्टाइन राखेर मात्रै न्यूनीकरण हुँदैन ।’ बैतडी जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ भने जिल्लाका स्थानीय तहले पनि आफ्नै पहलमा क्वारेन्टाइन स्थापना गरेका छन् ।

बैतडीका विभिन्न स्थानका क्वारेन्टाइनमा ५८ जना आश्रय लिइरहेको बुझिएको उनले जानकारी दिए । ‘स्वास्थ्यकर्मीका लागि पिपिई नै अपुग छ’, उनले भने, ‘जोखिम न्यूनीकरणका लागि दलीय सक्रियता पनि आवश्यक देख्छु ।’ उनले बैतडीको सिमावर्ती क्षेत्रमा नेपाली अलपत्र परेको खबर आए पनि उद्धारमा भने समस्या रहेको बताए ।

सुदूरपश्चिमसँगै स्थलमार्गबाट छोटो दूरी पर्ने भएकाले कर्णाली प्रदेश र प्रदेश नं। ५ का धेरै नागरिक ओहोरदोहोरका लागि गड्डाचौकी नाका बढी प्रयोग गर्दै आएका छन् । यहाँबाट भारतको राजधानी जिल्ला, देहरादुन, हरिद्वार, चण्डीगढ, पिथौरागढ, नैनीताल, पञ्जाव, हरियाणालगायतका शहर नजिक पर्छन् ।

मुलुकमै कोरोनाका सन्त्रासपछि भारतबाट बढी भित्रिएको प्रदेश सुदूरपश्चिम नै हो । ‘मर्नु परे पनि आफ्नै भूमिमा मरौँला भनेर रोजगारी छाडेर घर आएँ’, भारतको दिल्लीबाट फर्किएका बैतडीका वीरेन्द्र धामीले भने, ‘कतिपय ठाउँमा त मालिकले नै घर पठाइदिए ।’

भारतका विभिन्न स्थानमा नेपाली अलपत्र परेको बताउँदै उनले सरकारले नेपालीको उद्धारका लागि पहल गर्नुपर्ने बताए । ‘चीनबाट जहाजमा ल्याउने अनि भारतबाट आउनेलाई सीमामै लाठी हिर्काउनु त भएन नि ।’ धामीले भने, ‘भारतबाट फर्किएकाहरुले पनि सरकारलाई सहयोग गरी सङ्क्रमण न्यूनीकरणका लागि जिम्मेवार बन्नु जरुरी छ ।’

सङ्क्रमण फैलिने अवस्था रहे सुदूरपश्चिममा गरिएको पूर्वतयारीले पर्याप्त हुँदैन । ‘हामीले सङ्क्रमण नियन्त्रण र तयारीबारे सङ्घ र प्रदेश सरकारबाट कुनै समन्वय र निर्देशन छैन ।’ कञ्चनपुरका एक नगरप्रमुखले भने, ‘हामी आफ्नै हिसाबले सावधानी र व्यवस्थापनमा जुटेका छौँ ।’

यहाँका केही स्थानीय तहका प्रमुखले महामारीको त्रास र गर्नुपर्ने व्यवस्थापनका लागि सार्वजनिक रुपमै समन्वय र सहकार्यका लागि आह्वानसमेत गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहले रु एक÷एक करोड रकम सङ्कलन गरेर सुदूरपश्चिममै कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला र उपचार केन्द्र बनाउन जोड दिएका छन् ।

‘सङ्घ सरकारसँग पनि महाविपत्तिबाट जोगिन सामूहिक अनुरोध गरेर काम थाल्यौँ ।’ चन्दले भने, ‘प्रयोगशाला स्थापना गर्न सकिए स्वाब काठमाडौँ पठाउने झन्झट टथ्र्यो ।’ सुदूरपश्चिमकै ठूलो जिल्ला कैलालीमा पनि सङ्क्रमण नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

कैलाली कोभिड–१९ का सम्पर्क व्यक्ति जयसिंह भण्डारीले भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न यहाँका १३ वटै स्थानीय तहलाई पत्राचार भएको बताए । ‘धनगढीको रङ्गशालामा ५० श्ययाको क्वारेन्टाइन र ५० आइसोलेसन कक्ष निर्माण गरिएको छ ।’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा १० श्ययाको आइसोलेसन छ ।’ उनले कैलालीबाट हालसम्म सङ्क्रमणको आशङ्कामा १७ जनाको स्वाब परीक्षणका लागि पठाइएको जानकारी दिए । ‘आठजनाको रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘नौजना अझै आइसोलेसनमा छन ।’

धनगढी उपमहानगरपालिकाले सङ्क्रमण फैलिन नदिने विषादी छर्नसमेत शुरु गरेको छ । सुदूरपश्चिममा स्वास्थ्यकर्मीका लागि सुरक्षा प्रबन्ध र बिरामी परीक्षणका लागि आवश्यक उपकरण भने अझै उपलब्ध हुन सकेको छैन ।

प्रदेश सामाजिक विकास मन्त्रालयबाट ४६ थान पिपिई यहाँका अस्पताललाई वितरण गरिए पनि त्यो नै पर्याप्त नहुने स्वास्थ्यकर्मीको दुखेसो छ । ‘मेडिकल मास्क अभाव भएको धेरै भइसक्यो ।’ भीमदत्तनगरस्थित महाकाली अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘कमसलखालका दाताले दिएका मास्कले स्वास्थ्यकर्मी सुरक्षित हुन सक्दैनन् ।’

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले प्रदेशभरि ७५० आइसोलेसन कक्ष निर्माण गरिएको जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरुले एक महिनाको तलब सङ्क्रमण नियन्त्रणका लागि उपलब्ध गराउने निर्णय गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बजारमा तरकारी र दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको बताए । ‘अभाव पूर्ति गर्नेतर्फ पनि सरकार सजक हुनुपर्छ ।’ उनले भने, ‘खाद्यान्न अभाव हुँदा अर्को समस्या निम्तिन सक्छ ।’ उनले सीमा क्षेत्रमा सतर्कता अपनाइए पनि जोखिम पनि बढेर गएको बताए । ‘भारतबाट फर्किएकालाई जति निगरानीमा राख्नुपर्ने हो त्यो सकिएको देखिँदैन ।’ उनले भने, ‘सबैले हातेमालो गरेर महामारीविरुद्ध लड्नुपर्ने बेला यही हो ।’

त्यसैगरी सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले यहाँबाट हालसम्म २७ जना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ । तीमध्ये युएईबाट फर्किएका धनगढीका एक युवकमा कोरोनाको सङ्क्रमण देखिएको छ । ती युवासहित परिवारका सदस्य स्वास्थ्यकर्मीको निगरानीमा छन् । कोरोनाको सन्त्रासले भारतबाट मात्र सुदूरपश्चिममा डेढ लाख नागरिक भित्रिएको आँकलन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कोभिड–१९ का सम्पर्क व्यक्ति रामप्रसाद ओझाले भने, ‘तेह्र जनाको रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘स्वाबहरु यहाँबाट नेपालगञ्ज पु¥याउने र त्यहाँबाट दुई÷तीन वटा प्रदेशबाट आएका स्वाब जम्मा गरेर हेलिकप्टरमा काठमाडाँै पठाउने तयारी छ ।’

सरकारले घोषणा गरेको लकडाउनपछि सुदूरपश्चिम प्रदेशभरको सुरक्षा व्यवस्था भने कडा पारिएको छ । लकडाउन अवधिभर यहाँका नौ वटै जिल्लाका शहरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । शहर सुरक्षा सक्रियताले सुनसान बन्दा यहाँका ग्रामीण क्षेत्रमा पनि सुरक्षाको उपस्थिति बढ्दैछ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले यहाँका नौ वटै जिल्लामा सुरक्षा सतर्कता पढाइएको जानकारी दिए । ‘लकडाउनमा घर बाहिर बिनाकाम निस्कने नागरिक र सवारीलाई नियन्त्रणमा लिने गरिएको छ ।’ उनले भने, ‘बिहीबार मात्र ३० जना र १२९ सवारी साधन नियन्त्रणमा लिएर पछि छाडियो ।’ उनले लकडाउन अवधिमा घरमै बस्न आग्रह गर्दै अवज्ञा गरे कारबाही गर्ने बताए ।

‘सीमा क्षेत्रमा खटिने प्रहरी कर्मचारीलाई मास्कलगायतका सामग्री दिएर सावधानी अपनाइएको छ ।’ उनले भने, ‘सङ्क्रमितलाई पक्राउ गर्नु प¥यो भने हामीसँग पिपिई छैन ।’ भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण र विभिन्न जिल्लामा क्वारेन्टाइन निर्माणदेखि तयारीका अन्य व्यवस्थापनमा सेना सक्रिय रहेको नेपाली सेनाको श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ ।

यसैगरी शनिबार बसेको प्रदेश सरकारको बैठकले कोरोना रोकथामका लागि स्थापना गरिने कोषमा रु ४० करोड राख्ने निर्णय गरेको छ । शनिबारको मन्त्रिपरिषद्को आपत्कालीन बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि कोरोना भाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा रकम जम्मा गर्न सबैलाई सरकारले अपिल पनि गरेको छ । सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका सङ्क्रमितको स्वाबको नमूना परीक्षणका लागि सुविधा सम्पन्न प्रयोगशाला यथाशीघ्र स्थापना गर्ने निर्णय गरिएको प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।

उनले डोटीमा अछाम र बाजुरालाई लक्षित गरी र बैतडीमा बैतडीसँगै बझाङ र दार्चुलालाई लक्षित गरी कोरोनाको आशङ्का गरिएका व्यक्तिको स्वाब परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने बताए । ‘मजदुरी गुमेका ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने भनेका छौँ’, मन्त्री शाहले भने ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.