पर्यटन

डेनमार्कमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना ग¥यो ।

नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको उपस्थिति रहेको सो कार्यक्रममा अध्यागमन कानुनविद् एज क्रयाम्प र गैरसरकारी संस्थाका टम्मी एल जोरगेनसेनले नेपालमा भूकम्पपछिको पर्यटन प्रवद्र्धनबारे आफ्ना विचार व्यक्त गर्दै नेपालीप्रति आफ्नो सामिप्यता रहेको बताउनुभयो ।

कार्यक्रममा सन् २००८ मा सगरमाथा आरोहण गर्ने सोरेन स्मिट प्रमुख आकर्षण हुनुहुन्थ्यो । उहाँले विश्वका सबैभन्दा अग्ला सात शिखर पनि आरोहण गरिसक्नुभएको छ ।

उहाँले आफ्नो साथी हेन्रिक क्रिस्टियान्सेनसँगै सगरमाथा चढ्दाका रोचक अनुभव सुनाउनुभयो ।

सो अवसरमा कार्यबाहक राजदूत रामकाजी खड्का र नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोमनाथ सापकोटाले सोरेन, क्रयाम्प र जोरगेन्सेनलाई सम्मान गर्नुहुँदै नेपालको भूकम्पमा भएको विध्वंसका कारण क्षति भएको सन्दर्भमा पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।