पर्यटन

भक्तपुरको एकान्तकुमारी छनोट

OLYMPUS DIGITAL CAMERA

भक्तपुर, ३१ जेठ । जीवितदेवीको रुपमा पुजिने भक्तपुरकी एकान्तकुमारीमा जिविका बज्राचार्यलाई आइतबार छनोट गरिएको छ ।

२०७० साल साउन २१ गते भक्तपुरको एकान्तकुमारीमा नियुक्त भई बेल विवाहसँगै गत २०७२ साल चैत १३ गते अवकास पाउनुभएकी जुनिशा शाक्य पछि रिक्त रहेको कुमारी पदमा बज्राचार्यलाई छनोट गरिएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

जोशीले भन्नुभयो– “भक्तपुर नगरपालिका–११ क्वाछें टोलका ४३ वर्षीय जीवचन्द्र बज्राचार्य र ४१ वर्षीया विमलाकी सुपुत्री ५ वर्षकी जिविकालाई नयाँ एकान्तकुमारीमा नियुक्तिका लागि आइतबारै गुठी संस्थान भक्तपुरमा सिफारिस गरिएको छ ।”

बहालवाला कुमारी १० वर्ष नाघेर ११ वर्षमा प्रवेश गरेमा वा बेल विवाह गरेमा कुमारीबाट स्वत हट्ने परम्परा रहेको र तलेजुका मूल नाइके जोशीको सिफारिसमा गुठी संस्थानले नयाँ कुमारी नियुक्त गर्ने प्रचलन रहेको छ ।

कुमारी छनोट गर्दा भक्तपुरका शाक्य वा बज्राचार्य कूलका दुई वा तीन वर्षदेखि सात वा आठ वर्षसम्मका बालिकामध्ये सर्वगुणबाट योग्य देखिएको बालिका अभिभावकको मञ्जुरीमा कुमारीको लागि छनोट गर्ने प्रचलन छ ।

जसमा तलेजुका मूलनाइके जोशी र कुमारी सुसारे नाइकेले लक्षण उपयुक्त लागेपछि कुमारी आगम घरको फूलप्रसाद उक्त बालिकाको टाउँकोमा राखेपछि चार दिनसम्म बिरामी नभएमा, मुख मलिन नभएमा, बालिकाले कुमारी बन्न इन्कार नगरेमा उक्त बालिकालाई कुमारीमा छनोट गर्ने प्रचलन रहेको छ ।

दसँैको घटस्थापनादेखि काठमाडौँस्थित कुमारीघरमा ल्याइने र अष्टमीदेखि तलेजुको दसैँघरमा ल्याएर जीवित देवीका रुपमा पुजिने एकान्तकुमारी दसँैभरि कुमारी घरमा रहने प्रचलन छ ।

एकान्तकुमारी स्कुल जान, मामाघर जान र भक्तपुर, काठमाडाँै र ललितपुरका तीन जिल्लामा घुम्न पाउने व्यवस्था गरिएको छ । बहालवाला कुमारीलाई कौशितोसाखानाबाट मासिक रु दुई हजार २५० र गुठी संस्थानबाट मासिक रु ९०० गरी रु तीन हजार १५० भत्ता दिइँदै आएको छ ।