राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेश जानुपर्ने विवशतालाई अन्त्य गर्न तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले भने, “नेपालले बच्चालाई हुर्काएर पढाउँछ र योग्य बनाउँछ; तर देशको सेवा गर्ने मुख्य उमेरमा युवाहरू आफ्नो श्रम र सपना बोकेर बाहिरिन बाध्य छन्।
यहाँ पढेर देश बनाउने समयमा विदेश जानुपर्ने र पछि बुढेसकालमा मात्रै फर्किने अवस्थालाई अब रोक्नै पर्छ।” उनले युवाहरूलाई स्वदेशमै भविष्यप्रति विश्वस्त बनाउन स्पष्ट कार्ययोजना र कानुनी ग्यारेन्टी आवश्यक रहेको बताए। यसका साथै, विदेशमा रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई राष्ट्र विकासमा परिचालन गर्न वंशजको नेपाली पहिचानलाई कायम राख्दै दोहोरो नागरिकता, डिजिटल भोटिङ र राजनीतिक अधिकार प्रदान गर्ने गरी कानुन संशोधन गर्नुपर्नेमा उनले जोड दिए।


